दुबईमा खोलिएका नेपालीकै सुन पसलबाट अवैध रूपमा भित्रिन्छ नेपालमा सुन

दुबईमा खोलिएका नेपालीकै सुन पसलबाट अवैध रूपमा भित्रिन्छ नेपालमा सुन

काठमाडौं। १२ बैशाख २०७८ : दोलखाका प्रदिपप्रसाद न्यौपाने यूनाइटेड अरब इमिरेट्स (यूएई) को दुबईबाट काठमाडौं फर्किने क्रममा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘टुलबक्स’ भित्र ६ सय ग्राम सुन अवैध रूपमा लुकाएर ल्याएको अवस्थामा पक्राउ परे।

२० बैशाख २०७८ : दुबईबाट काठमाडौं फर्किएका पाँच नेपाली गुल्मीका जनक खड्का, प्युठानका यमलाल खनाल, नुवाकोटका धनबहादुर तामाङ, सुमित तामाङ र कास्कीका राजु विक स्पिकरमा अवैध रूपमा १ किलो ३ सय ९१ ग्राम सुन लुकाएर ल्याउँदै गर्दा काठमाडौं विमानस्थलबाटै पक्राउ परे।

यी दुई घटना यही बैशाख महिनाको हो। विश्व अहिले कोरोना महामारीबाट आक्रान्त भएको बेला दुबईबाट नेपालमा सुनको तस्करी हुने क्रम रोकिएको छैन। बरू उल्टै सुन तस्करहरूले कोरोनाको संवेदनशील अवस्थालाई सुन तस्करीको राम्रो मौकाको रूपमा प्रयोग गरिरहेका छन्।

बैशाखअघि २४ चैत्र २०७७ मा पनि दुबईबाट ५० ग्राम बालासहित ८ सय ८४ ग्राम सुन ‘राइस कुकर’ मा अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा धनुषाका प्रकाश महरा विमानस्थलमा पक्राउ परेका थिए।

त्यसअघि २ फागुन २०७७ मा पनि दुबईबाट ‘टर्च लाइट’ मा ६ सय ग्राम सुन अवैध रूपमा लुकाएर ल्याएको अवस्थामा राजु लामा पक्राउ परेका थिए।

यी पक्राउ परेका सबै व्यक्ति भरिया भएको र उनीहरूको ‘कनेक्सन’ दुबईमा रहेका नेपाली सुन तस्करसँग जोडिएको प्रमाण हालै प्रवास खबरले सार्वजनिक गरेको थियो।

नेपालमा सुन बोकाएर पठाउने तस्करहरूको ‘कनेक्सन’ दुबईमा सुन पसल खोलेर बस्ने नेपालीहरूसँग रहेको खुलासा पनि भइसकेको छ।

यसै साता काठमाडौंमा पक्राउ परेका ५ नेपाली भरियाले दुबईस्थित माउन्ट एभरेस्ट सुन पसलबाट सुन ल्याएको खुलासा प्रवास खबरले ‘दुबई सुन तस्करी भाग–५’ मा गरिसकेको छ।

दुबईबाट अवैध रूपमा सुन भित्र्याउँदा सुन पसलेले फाइदाको ५० प्रतिशत र सुन तस्करले ५० प्रतिशत बाँडफाँड गर्दै आइरहेका छन्।

माउन्ट एभरेस्ट सुन पसल पहिलो पल्ट यस्तो घटनामा जोडिएको होइन। २ फागुन २०७७ मा ‘टर्च लाइट’ मा लुकाएर ल्याएको सुन पनि माउन्ट एभरेस्ट सुन पसलबाटै पठाइएको थियो।

नेपाल प्रहरीले दुबईबाट पछिल्लो समय भित्रिरहेको सुनको विषयमा गरेको अनुसन्धानमा माउन्ट एभरेस्ट सुन पसलको नाम बढी आइरहेको बताएको छ। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले प्रवास खबरलाई दिएको सूचना अनुसार दुबईबाट नेपाल सुन भित्र्याउन यूएईमा नेपालीले खोलेको सुन पसलको संलग्नता बढी देखिन्छ।

‘हामी गम्भीर अनुसन्धानमा जुटेका छौं। पहिले अन्य ठाउँबाट सुन किनेर अवैध रूपमा नेपालीहरूलाई भरिया बनाएर सुन पठाउने गरिन्थ्यो भने अहिले नेपालीहरूले नै सुन पसल खोलेर त्यहीबाट सुन किनेको देखाएर पठाउने गरिएको पाइएको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए।

दुबईमा हाल डेढ दर्जनभन्दा बढी नेपालीको सुन पसल रहेको छ। तर, यस विषयमा आफूहरू जानकार नभएको नेपाली बिजनेश काउन्सिल, यूएईका महासचिव दिपक पौडेल बताउँछन्।

प्रवास खबरसँगको टेलिफोन वार्तामा उनले भने, ‘सुन पसल बढेको भन्ने सुनेको हुँ। तर, कति पुग्यो त्यो ठ्याक्कै थाहा भएन।’

यस विषयमा अबुधाबीस्थित नेपाली दूतावासले पनि आफू अन्जान रहेको बताएको छ। राजदूत कृष्णप्रसाद ढकालले टेलिफोन कुराकानीमा भने, ‘यस बारेमा हामीलाई जानकारी हुँदैन।’

यूएईमा नेपालीहरूले व्यापार गर्न नेपाली दूतावाससँग कुनै स्वीकृति लिनुनपर्ने बताए। ‘स्वीकृति लिनुनपर्ने कारण हामीलाई कुन नेपालीले के काम गरिरहेका छन्, त्यो थाहा हुँदैन,’ राजदूत ढकालले भने।

यो पनि पढ्नुहोस्

रोकिएन यूएईबाट सुन तस्करी,डेढ किलो सुनसहित पाँच नेपाली विमानस्थलमा पक्राउ

भिजिट भिसामा यूएई पुर्‍याइयो, काम दिलाउन नसकेपछि डेढ किलो सुन बोकाएर पठाइयो

पाँच नेपालीलाई सुन बोकाउने गिरोहको पहिचान खुल्यो

नयाँ–नयाँ शैलीमा सोझा कामदारलाई सुन बोकाउँछन्– कृष्ण मगर, दिनेश मोक्तान र बिके पाण्डे

नेपालमा पक्राउ परेको सुन दुबईको माउन्ट एभरेस्ट ज्वेलरीबाट खरिद भएको खुलासा