पैसाको लोभमा अन्धो भए व्यापारी, लास ढाक्ने कात्रो पनि चोरी गर्दै विक्री

पैसाको लोभमा अन्धो भए व्यापारी, लास ढाक्ने कात्रो पनि चोरी गर्दै विक्री

काठमाडौं। पैसाका लागि मानिस कति हदसम्म तल गिर्छन्? यसको ज्वलन्त उदाहरण नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशको बागपत जिल्लामा देखिएको छ।

कोरोनाबाट अहिले भारत त्राहीमाम छ। यहाँ मर्नेको संख्या उच्च बिन्दुमा छ। उत्तर प्रदेशमा पनि पछिल्लो दिन कोरोना संक्रमितको संख्या चुलिएको छ। हालै मात्र उत्तर प्रदेशको बागपत जिल्लामा रहेको आर्यघाटबाट लास ढाकेर ल्याउने कपडा कात्रो पनि चोरी हुन थालेको छ।

यो काण्डमा एउटा गिरोह नै सक्रिय भएको भारतीय मिडियाले बताएका छन्। कात्राे चोरी गरेर पुनः बेच्ने गिरोहमा एक जना कपडा व्यापारी, उसका छोरा तथा भतिजा समावेश रहेको प्रहरीले बताएको छ। यिनीहरूलाई प्रहरीले पक्राउ पनि गरेको छ।

यो काण्डमा पसलमा काम गर्ने ४ कर्मचारी पनि संलग्न थिए। उनीहरू प्रत्येक दिन आर्यघाट जाने तथा त्यहाँ प्रयोग भइसकेका कपडा चोरेर ल्याउने तथा त्यसलाई नयाँ लेबल लगाउँदै बेच्ने गरेको प्रहरीले बताएको छ।

दिनहुँ मृतकको संख्या बढ्न थालेपछि गिरोहले दैनिक ३ सय ज्यालादारीमा मजदुर राखेको पनि खुल्न आएको छ। लासलाई ढाकेर ल्याएको कपडालाई धोएर आइरन गरी पुनः बेच्न राख्ने गरिन्थ्यो। पहिले नै प्रयोग भइसकेको कपडा ग्वालियरबाट आएको भन्दै बिक्री बितरण गर्ने गरिन्थ्यो। पसलेहरूले एउटा कात्राे ४ सय रूपैयाँमा बेच्दै आइरहेका थिए।