उडान प्रतिबन्ध लम्बियो भने यूएईका नेपालीलाई समस्या आउन सक्छ : राजदूत ढकाल

उडान प्रतिबन्ध लम्बियो भने यूएईका नेपालीलाई समस्या आउन सक्छ : राजदूत ढकाल

काठमाडौं । नेपालमा ‘नयाँ भेरियण्ट’को कोरोना भाइरस अक्रामक गतिमा फैलिएसँगै सरकारले गरेको निषेधज्ञा जारी छ। गएको बिहीबारदेखि अन्तर्राष्ट्रिय उडान पनि ठप्प छन्।

उडान बन्द भएपछि त्यसको ठूलो असर विदेशमा रहेका नेपालीलाई पर्ने गरेको छ। अघिल्लो वर्ष पनि अन्तर्राष्ट्रिय उडान रोक्दा लाखौँ नेपाली विदेशमा अलपत्र परेका थिए। कोरोनाले अघिल्लो वर्ष यूएईका नेपालीलाई बढी समस्यामा पारेको थियो। पर्यटनसँग सम्बन्धित क्षेत्र बन्द भएपछि त्यहाँ कार्यरत हजारौँ नेपाली बेरोजगार भएका थिए।

रोजगारी गुमेपछि उनीहरू नेपाल फर्किनुको विकल्प थिएन। तर, भइदियो के भने त्यसैबेला उडान बन्द गरियो। समस्यामा परेका नेपाली थप समस्यामा परे। नियमित घरविदामा फर्किनेहरू पनि समयमै फर्किन पाएनन्। लामो समयसम्म उडान रोकिँदा यूएईमा व्यापक समस्या देखिएको थियो। घरफर्किन र बस्न खान पनि समस्या भएपछि पीडितहरू दूतावासमै पूगेर नारावाजी समेत गरे।

अहिले उडान बन्द भएको लामो समय भइसकेको छैन। तर, यसरी प्रतिबन्ध लम्बिदै गएमा पहिलाको जस्तो अवस्था आउने निश्चित छ।

यूएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकाल पनि उडान प्रतिबन्ध लम्बिदै गएमा त्यसको असर पर्ने बताउँछन्। ‘अहिलेसम्म त यहाँको अवस्था सामान्य नै छ। कोही पनि समस्या पर्यो भनेर दूतावाससमक्ष आइपुग्नु भएको छैन,’ राजदूत ढकालले आवुधावीबाट प्रवास खबरसँगको टेलिफोन सम्पर्कमा भने, ‘अहिले त रोकिएको धेरै पनि भएको छैन। लामो समयसम्म रोकियो भने समस्या आउँछ।’

यूएईमा कोरोनाको महामारी सामान्य अवस्थामा रहेकोले यसअघि जस्तो नेपालीहरू समस्यामा नपर्ने उनको तर्क छ। यूएईको जनजीवन सामान्य अवस्था तिर फर्किएको उनको भनाइ छ।

यूएईबाट नेपालका लागि दैनिक ७ देखि १० वटासम्म उडान हुन्थे। एयर अरेबियाले दैनिक ३ उडान भर्ने गर्दथ्यो। त्यस्तै फ्लाई दुबईले २ तथा इतिहाद एयरलाइन्सले एउटा जहाज काठमाडौंमा नियमित उडाइरहेका थिए।

नेपाल एयरलाइन्सले पनि हप्तामा ३ वटा उडान गर्दथ्यो। आबुधाबीबाट हप्तामा २ वटा उडान हिमालय एयरलाइन्सले भर्दे आएको थियो। त्योबाहेक यूएईबाट फर्किने नेपालीलाई बोकेर ओमन एयर र जजिरा एयरले पनि कनेक्टिङ उडान गर्दथ्यो ।

राजदूत ढकाल यसपालि रोजगारी गुमाएर समस्यामा परेका भन्दा नियमित रुपमा फर्किने प्रभावित हुने बताउँछन्। ‘अहिले भिसाको अवधि पूरा गरेर फर्किन लागेका र विदामा फर्किनेलाई यसको प्रभाव पर्छ,’ ढकाल भन्छन्, ‘तर, हामी (दूतावास) त्यसतर्फ अहिलेदेखि नै सचेतपूर्वक काम गरिरहेका छौँ।’