बाल्टिमोर गोली काण्डमा मारिएका सागर प्रतिभावान विधार्थी थिए

बाल्टिमोर गोली काण्डमा मारिएका सागर प्रतिभावान विधार्थी थिए

मेरिल्याण्ड।अमेरिका आम नेपालीको लागि सपनाको देश हो। यही देशमा आफ्नो सपना पुरा गर्न चार वर्षअघि आफ्नो साथी श्याम अधिकारीसँगै २७ वर्षीय सागर घिमिरे पनि अमेरिका हानिएका थिए।

यही वर्ष क्यालिफोर्नियाको क्लाफिन विश्वविधालयबाट स्नातक पुरा गरेपछि उनीहरू काम खोज्न मेरिल्याण्डको बाल्टिमोर सरेका थिए। तर, दैवको लिला ! शनिबार बाल्टिमोरमा उनीहरू डेरा गरिबस्ने घर नजिकै एउटा छिमेकीले आफ्नै घरमा आगो लगाए। र, अश्वेत झैं लाग्ने एक अधबैशे अमेरिकीले अन्धाधुन्ध गोली चलाउँदा सागरको घटना स्थलमै गोली लागेर निधन भयो। श्याम भने बाच्न सफल भएका छन्।

अहिले सागरको घरमा दुःखको चाङ खसेको छ। उनको आमाको केही समयअघि मात्र मुटुको व्यथाका कारण निधन भएको थियो।

सागरको वास्तविक घर संखुवासभाको खादबारी हो। उनी खादबारी नगरपालिका–६ मा जन्मिएका थिए। उनको बुवा र दाजु खादवारीमै बस्छन्।

सागर निकै ‘ब्राइट स्टुडेन्ट’ थिए। सानैदेखि ठूलो बुवाको छोरासँग बसेर काठमाडौंमा पढेका थिए। उनी अमेरिकी सरकारको छात्रबृत्तिमा आइटीमा स्नातक गर्न क्यालिफोर्निया उडेका थिए।

उनको साथी श्यामको खुट्टामा गोली लागेको छ। सर्लाही निवासी श्याम हाल अस्पतालमा उपचार गराइरहेका छन्।

बाल्टिमोर प्रहरीका अनुसार गोली हान्ने व्यक्ति ५६ वर्षीय अमेरिकी एभर्टन ब्राउन हुन्। त्यो ठाउँमा घरमा किन आगो लाग्यो र गोली किन चलाइयो भन्ने अहिलेसम्म खुल्न सकेको छैन। तर, प्रहरीले एउटा घरमा आगो लागिरहेको भिडियो सार्वजनिक गरेको छ।

यो घटनामा ४ जनाको निधन भएको छ। स्थानीय समाजसेवी महेश भट्टराईका अनुसार शनिबार बिहान सुतिरहेको अवस्थामा ६ बजेर ४० मिनेटमा ठूलो आवाजमा गोली चल्नुको साथै घरमा आगो लागेको थियो। गोलीको आवाज सुनेर श्याम ब्युँझिएका थिए। सुरुमा उनीहरूले भूइँचालो आयो भन्ने सोचेका थिए।

श्यामले नै सुतिरहेका सागरलाई उठाएका थिए। तर, तल गएर हेर्दा आगो दन्दनी लागिरहेको थियो। आगो लागेको थाहा पाएपछि घरबेटीलाई बचाउन उनीहरू माथिल्लो तलामा लागेका थिए। आफ्नो केही डकुमेन्ट छुटेको सम्झेर श्याम आफ्नो बस्ने कोठामा पुन: लागेका थिए। तर, तल झर्दा सागर गोली लागेर ढलिसकेका थिए।

श्यामले काखमा लिँदासम्म सागरको सास चलिरहेको थियो तर ती अमेरिकीले पुनः फर्किएर अन्धाधुन्ध गोली चलाए। गोली श्यामको खुट्टामा लाग्यो र उनी अचेत बन्न पुगे। उनको खुट्टाको सल्यक्रिया सोमबार हुँदैछ।