कोरोनाविरूद्ध देश लडिरहँदा विदेशमा बसेका हामी नेपालीको दायित्व केही छैन?

कोरोनाविरूद्ध देश लडिरहँदा विदेशमा बसेका हामी नेपालीको दायित्व केही छैन?

कोरोना महामारीको चपेटामा यतिबेला सारा विश्व अक्रान्त बनेको छ। व्यवसाय ठप्प हुँदै आर्थिक मन्दी र चरम बेरोजगारीको स्थिती उत्पन्न हुने खतराको संकेत समेत देखाइसकेको छ।

कोरोना संक्रमणको दोश्रो लहर छिमेकी मुलुक भारतमा भयावह रुपमा फैलिरहेको छ भने त्यसको असर नेपालमा पनि देखिन थालेको छ। संक्रमण रोकथाममा सरकारको चरम लापरवाही तथा फितलो नीतिका कारण सर्वसाधारणको जीवन उच्च जोखिममा परेको छ।

यसमा पनि आम मानिसको नसुध्रिएको जीवनशैलीले थप ‘आगोमा पेट्रोल’ छर्ने काम भइरहेको छ। आजको मितिसम्म आइपुग्दा संक्रमण तिब्र गतिमा फैलिएको छ।
कोरोना द्रुतगतिमा फैलिने मामिलामा नेपाल नेपाल विश्वको ११ औं स्थानमा उक्लिसकेको छ। अब यो कुन स्तरमा अझै फैलिने हो, यसको यकिन गर्न सकिने अवस्था छैन।

हामीले जहिले पनि आफै अनुभव गरेर पाठ सिकिरहनु पर्दैन। अरुको अनुभवबाट पनि पाठ सिक्न सकिन्छ। हालै छिमेकी मुलुक भारतमा अक्सिजन नपाएकै कारण दिनहुँ हजारभन्दा बढीको अकाल मृत्यु भएको हामी सबैले देखेबुझेका छौ। हामीसँग अझै पनि पूर्वतैयारीको लागि पर्याप्त समय छ तर समयको सदुपयोग हुन जरुरी छ।

जनताको जीउधन र स्वास्थको सुरक्षा र प्रत्याभूति राज्यको प्राथमिकतामा पर्नुपर्ने हो। तर, अहिले सरकार र प्रतिपक्ष सबै सत्ता टिकाउने र प्राप्त गर्ने जोड–घटाउमा व्यस्त देखिन्छन्। सरकार त सरकार, ठूला र विश्वव्यापी भनिने संघ–संस्थासमेत अधिवेशनको चटारोमा देखिन्छ।

त्यसैले अब छिट्टै बजारमा मास्क सकिने, अक्सिजन र औषधीको कालाबजारी हुने स्थिति केहि हप्तामै नआउला भन्न सकिने अवस्था छैन। यस्तो अवस्थामा ‘गरिबको चमेली बोल दिने कोई छैन’ भनेर सामाजिक सञ्जाल चिर्थोर्ने र टुलुटुलु हेर्नेबाहेक केहि गर्न नसकिने अवस्था आउन नदिन पूर्वतयारीमा जुट्नु जरुरी छ।

आजैबाट सोचौं, अधिवेशन अर्को साल गर्दा पनि हुन्छ। पहिले आफन्त साथीभाई र देश जोगाऔं। बरु मास्क र अक्सिजन के–के पठाउन सकिन्छ? यसतर्फ सबैले एकपल्ट सोच्ने हो कि?

(बर–दुबईमा व्यवसाय गर्दै आएका शेर्पा एनआरएनए यूएईका उपाध्यक्ष हुन्।)