उद्दार र चार्टर उडानको नाममा फेरि बिचौलिया सल्बलाउने खतरा

उद्दार र चार्टर उडानको नाममा फेरि बिचौलिया सल्बलाउने खतरा

सरकारले नियमित अन्तर्राष्ट्रिय उडान खुल्ला गर्नेतर्फ पुर्नविचार गर्नुपर्ने आवश्यकता महसुस सबैले गर्न थालेका छन्। विभिन्न निकाय तथा सरोकारवालाले यसबारे सरकारलाई ध्यानाकर्षण गराउन सुरु गरिसकेका छन्।
उडान बन्द गर्दा कुनै एउटा क्षेत्र मात्र होइन, पूरै देश र देशबाहिर भएका नेपाली प्रभावित हुनछन्। सरकारले नियमित उडान सुरु गर्ने कदम चाले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कन र सबै आवश्यक कागजपत्र मिलेका भिसा वाहक, सम्बन्धित देशको वर्क पर्मिट वाहक लगायत नेपालबाट आफ्नो कर्मथलो फर्किनेको हकमा ठूलो लाभ पुग्ने थियोे।

नत्र हज्जारौं मात्र होइन, लाखौं नेपालीको जागिर जाने निश्चित छ। विप्रेषणले चलेको देशमा यो मुलद्वार नै बन्द गरिदिएपछि कस्तो अवस्था सृजना होला? त्यो हामीले सहजै अनुमान लगाउन सक्छौं। त्यसैले सरकारले छिटोभन्दा छिटो कडा मापदण्ड लागू गरेर भएपनि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु गर्नु पर्दछ। होइन भने बिचौलियाहरू उद्दार उडान र चार्टर उडानको नाउँमा लुट्न र ठग्न सल्बलाउन बेर छैन।

जसले सरकारको उपलब्धि र गरेका काममा पनि प्रश्न चिन्ह खडा गरिदिनेछ। र, सरकारलाई बदनाम गर्ने छन्। जहाँसम्म विदेश जाने र स्वदेश फर्किनेको विषय छ, त्यो हामी सबैले बुझेकै कुरा हो। हाल स्वदेशबाट विदेश जानेहरूले सरकारले तोकेको र विश्वास गरेको स्वास्थ्य संस्थाबाट पीसीआर लगायत अन्य परीक्षण गरेर नै जाने गरेका छन्।

विदेशबाट स्वदेश फर्कनेले पनि यहाँको सरकारले निर्देशित गरेको स्वास्थ्य संस्थाबाट पीसीआर परीक्षण गरेर फर्किने गरेका छन्। बरु सरकारले १० दिन होटेल क्वारेन्टाइनलाई अनिवार्य लागू गरेर स्वदेश फर्किनेलाई सहजता प्रदान गर्नु उपयुक्त हुनेछ।
सामान्य नन स्टार होटेलमा प्रत्येक कोठामा २ जना बस्नेगरी खाजा खानाको व्यवस्था गरि क्वारेन्टाइन अनिवार्य गरे होटेल व्यवसायी पनि लाभान्वित हुनेथिए र राज्यको अर्थतन्त्रमा पनि टेवा पुग्ने थियो।

क्वारेन्टाइन मुक्त हुनुअघि पुनः स्वाब परीक्षण गरि जिल्ला फर्किन साझा बसलगायत अन्य सवारीसाधनको प्रयोग गरे हुन्छ। म लगायत सयौं नेपाली यतिबेला कतारको दोहा र यस वरिपरिका होटेल क्वारेन्टाइनमा यी र यस्तै सेवा दिने होटेलमा क्वारेन्टाइन बसेका छौं। जहाँ, बिहानको खाजा, दिउँसोको खाना, बेलुकाको खाजा, खाना र शुरूवात तथा अन्तिममा स्वास्थ्य चेकजाँचको साथै पीसीआर परीक्षणको व्यवस्था गरिएको छ।

सरकारद्वारा आकस्मिक सेवाको निम्ति एक जना नर्स अनिवार्य रुपमा होटेलको कुनै तल्लामा डेस्क स्थापना गरि सेवामा खटाइएको छ। श्रमिक तथा अन्यको हकमा न्युनतम शुल्कमा मेकाइनिस क्वारेन्टाइन सेन्टरद्वारा सेवा दिने कार्य कतार एयरवेजको डिस्कभर कतार नामको संस्थाले गरिरहेको छ। मेकाइनिसमा पनि सामान्य होटेलको जस्तै सेवा दिइन्छ। जसले गर्दा सुरक्षित तवरले कतार खुल्ला छ भन्न सकिन्छ। कतारले हाल पनि उडानहरू यथावत नै राखेको छ। पछिल्लो पटक छोटो समय स्थगन पश्चात उडान सेवालाई निरन्तरता दिएको स्मरण गराउन चाहन्छु।

दोहामा बस्ने मियाँ राष्ट्रिय मानव अधिकार समिति कतारका नेपाली समाज प्रतिनिधि हुन् ।