सरकार र बिचौलियाबीच कमिसनमा आरोप–प्रत्यारोप, जनता औषधी नपाएर मर्दै

सरकार र बिचौलियाबीच कमिसनमा आरोप–प्रत्यारोप, जनता औषधी नपाएर मर्दै तस्वीर : रोयर्टस

काठमाडौं। भारतमा आउँदो जुलाइमा कोभिड–१९ को दोस्रो लहर समाप्त हुँदैछ। योसँगै तेस्रो लहरको कोभिड–१९ सुरु हुने भारतीय बैज्ञानिकले दावी गरेका छन्। कोरोनाको विषयमा तथ्यांक संकलन गरिरहेका प्रोफेसर मणिन्द्र अग्रवालको दावीलाई पत्याउने हो भने तेस्रो लहरको कोभिड–१९ अक्टुबरबाट सुरु हुनेछ।

भारतमा कोरोनाको दोस्रो लहर निकै खतरनाक बनेको छ। यस्तो बेला तेस्रो लहरले कुन हदसम्म जोखिम निम्त्याउँछ, त्यो रहस्यको गर्भमा छ। तर, तेस्रो लहर पनि दोस्रोभन्दा कम भयावह नहुने आशंका भारतीय बैज्ञानिकले गरेका छन्।

भारतको केन्द्र सरकारका प्रमुख बैज्ञानिक सल्लाहकार विजय राघवनले पनि तेस्रो लहर आउने कुरा स्विकार गरिसकेका छन्।

भारतमा पछिल्लो समय फैलिएको कोरोनाको दोस्रो लहरका कारण नेपालको अवस्था पनि भयावह बन्दै गइरहेको छ। नेपालमा दैनिक ९ हजारको हाराहारीमा नयाँ संक्रमित फेला पर्न थालेका छन् भने ५० भन्दा बढीको निधन हुन थालेको छ।

अन्तर्राष्ट्रिय एजेन्सीहरूले खुला सिमाना भएका कारण नेपाल पनि भारतजतिकै कोरोनाको उच्च जोखिममा रहेको बताउँदै आइरहेका छन्। भारतसँग सीमा जोडिएको तराईको भूभागमा कोरोनाको उच्च जोखिम छ। राजधानी काठमाडौंमा संक्रमितको उपचारका लागि अस्पतालमा बेड तथा अक्सिजनको आपूर्ति कम हुन थालेका छन्।

सरकारले चीनबाट अक्सिजनको सिलिण्डर मगाउने घोषणा गरेपनि त्यो अपर्याप्त देखिन्छ। सरकार र औषधी दलालहरूबीच कमिसनको कुरा नमिल्दा कोरोनाको खोप आउन बिलम्ब भइरहेको छ भने सरकार र दलालहरू एक–अर्कामाथि हिलो छ्याप्दै आफू जोगिन खोजिरहेका छन्। तर, उनीहरूलाई नागरिकको केही मतलब छैन।

तेस्रो लहरको जोखिम सुरु नहुँदै राज्यले अपनाउनुपर्ने कुनै कार्य गरेको देखिदैन। यसै पनि दोस्रो लहरलाई नियन्त्रणमा राख्न नसक्दा सरकारले ‘जनतालाई आफ्नो ज्यानको सुरक्षा आफै गर्नु’ भन्दै हात उठाइसकेको छ।

सडकमा प्रहरी, कोरोनाबाट मरेकाहरूको सद्गद् गर्ने काममा नेपाल आर्मी र अस्पताल तथा उपचारमा स्वास्थ्यकर्मी दिनरात खटिएका छन्। तर, सरकार भने बिचौलियामार्फत औषधीमा पनि कमिसन खोजेर बसिरहेको छ। यस्तो अवस्थामा नागरिकको ज्यान ‘कौडीको मोल’ जस्तै देखिएको छ।

प्राइभेट अस्पतालहरू उपचारका नाममा महंगो रकम असुलेर गरिब जनताको खुन चुस्न थालेका छन्। औषधीमा दिनदहाडै कालोबजारी भइरहेको छ। अझ पैसाको लागि नक्कली खोप बेचेको खुलासा हालै विराटनगरमा भएको थियो।

करिब १ अर्ब ३० लाख जनसंख्या भएको भारतमा जसरी पछिल्लो समय २ करोड १८ लाख ८० हजार मानिस संक्रमित भइसकेका छन्, यस्तै ३ करोड जनसंख्या भएको नेपालमा पनि तीन लाख ७७ हजार ६ सय तीन जना संक्रमित भइसकेका छन्। भारतमा २ लाख ३८ हजारको निधन भएको छ भने नेपालमा ३ हजार ५ सय ७९ जनाले ज्यान गुमाइसकेका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कमजोर स्वास्थ्य व्यवस्थाका कारण कोरोनाको असर भारतमा भन्दा नेपालमा बढ्ने कुरालाई नकारेको छैन।