किन पक्रिए कतारका अर्थमन्त्री?

किन पक्रिए कतारका अर्थमन्त्री?

दोहा। उनलाई गत वर्ष मात्र बेलायतको फाइनान्सियल पत्रिकाले मध्यपूर्वको उत्कृष्ट अर्थमन्त्रीबाट पुरस्कृत गरेको थियो। कोरोना महामारीको बेला कतारको अर्थव्यवस्था ३ दशमलव ७ प्रतिशतमा खुम्चिदा पनि उनले राम्रो काम गरेको भन्दै वाहवाही भएको थियो।

तर, एक वर्षभित्र त्यस्तो के भयो? जसका कारण अर्थमन्त्री अली सरिफ अल–इमादीलाई कतारी सरकारले बिहीबार एक्कासी हिरासतमा लिनुपर्याे।

सन् २०१३ मा कतारी अमिर शेख तमिम अल हमद अल थानी शक्तिमा आएपछि अल–इमादी अर्थमन्त्री नियुक्त भएका थिए। यसअघि उनी कतारको राष्ट्रिय बैंकका कार्यकारी प्रमुख थिए र ३ सय बिलियन डलरको कोष सञ्चालन गर्थे।

उनलाई अहिले पदको दुरुपयोग गर्दै सरकारी सम्पत्तिको हिनामिना गरेको आरोप लागेको छ। बिहीबार नै उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको थियो। उनले आफ्नो बारेमा कुनै प्रतिक्रिया जनाएका छैनन्। अमेरिकाको एरिजोना विश्वविधालयबाट फाइनान्समा स्नातकोत्तर गरेका अल–इमादी सन् २०१३ मा अरबको ३२ औं प्रभावशाली व्यक्तिमा दरिएका थिए।

छिमेकी राष्ट्र साउदी अरेबियालगायतका देशले आर्थिक नाकाबन्दी गर्दा अल–इमादीले राम्रो काम गरेको भन्दै स्याबासी पाएका थिए। तर, एक्कासी उनको पक्राउले सन् २०२२ मा विश्व कप आयोजना गर्न लागेको यो देशको आर्थिक अवस्था कस्तो बन्ने हो, यो हेर्न बाँकी छ।

कतारका अर्थमन्त्री भ्रस्टचारको आरोपमा पक्राउ