रहेनन् नेपालमा समेत अपराध गरेका ‘अन्डरवर्ल्ड डन’ छोटा राजन

रहेनन् नेपालमा समेत अपराध गरेका ‘अन्डरवर्ल्ड डन’ छोटा राजन तस्वीर : अमर उजाला

काठमाडौं।अपराधको दुनियाँमा निकै चर्चा कमाएका ‘अन्डरवल्र्ड डन’ छोटा राजनको कोरोना संक्रमणको कारण  निधन भएको छ। उनको भारतको  राजधानी नयाँदिल्लीस्थित एम्स अस्पतालमा उपचार भइरहेको थियो। शुक्रबार दिउँसो उनको निधन भएको भारतीय मिडियाले जनाएका छन।

१९९३ मुम्बई बम ब्लास्टमा आरोपी रहेका छोटा राजन लामो समयदेखि दिल्लीको तिहाड जेलमा बन्द थिए। उनलाई जेल प्रशासनले २६ अप्रिलमा उपचारका लागि एम्स अस्पतालमा भर्ना गरेको थियो।

शुक्रबार अचानक उनको स्वास्थ्य अवस्था बिग्रिएको थियो। ६१ वर्षीय राजनको पुरा नाम राजेन्द्र निकालजे हो। सन् २०१५ मा उनलाई इन्डोनेसियाको बालीबाट प्रत्यर्पण गरेर भारत पु¥याइएको थियो। उनी ६ वर्षदेखि तिहाड जेलमा बन्द थिए।

छोटा राजनमाथि अपहरण र हत्याको ७० भन्दा बढी मुद्धा दर्ता थियो। उनलाई मुम्बईका बरिष्ठ पत्रकार ज्योतिर्मय डेको हत्या आरोपमा आजीवन कैदको सजाय सुनाइएको थियो। केही दिनअघि उनलाई हनिफ कडावालाको हत्याको मुद्धामा सीबीआईको विशेष अदालतले सफाई दिएको थियो।

छोटा राजन पहिले भारतका नम्बर एक अपराधी दाउद इब्राहिमको ग्याङमा बसेर काम गर्थे। १९९३ को मुम्बई बम ब्लास्टपछि उनीहरू छुट्टिएका थिए। राजनलाई दाउद इब्राहिमको ग्याङले बैंककमा मार्न खोजेको थियो। उनी त्यहाँबाट उम्किन सफल भएका छन्।

छोटा राजन नेपालका पूर्व सांसद मिर्जादिलसाग बेग, मिडिया उद्यमी जमिम शाहको हत्यामा संलग्न थिए। अर्का मिडिया उद्यमी युनुस अन्सारीलाई कारागारभित्र हमला गर्ने कार्यमा राजनको समूह संलग्न थियो।