जापानमा पनि नेपाली उच्च निगरानीमा, प्रवेशमा कडाइ

जापानमा पनि नेपाली उच्च निगरानीमा, प्रवेशमा कडाइ

टोकियो । नेपालमा नयाँ ‘भेरियण्ट’ सहित कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि जापान सरकारले नेपालीहरूको प्रवेशमा कडाइ गर्ने भएको छ। जापानले नेपालसहित पाकिस्तान र भारतीय नागरिकलाई प्रवेशाज्ञामा कडाइ गर्ने तयारी गरेको हो।

भारतमा कोरोनाको नयाँ ‘भेरियण्ट’ फेला परेपछि जापानले गत साता १४ दिनको क्वारेन्टाइनबाहेक अतिरिक्त नियम लागू गराएको थियो। यो नियममा अब पाकिस्तान र नेपाल पनि बाँधिएका छन्। अब नेपालीहरूले जापान प्रवेश गरेको ६ दिन सरकारले तोकेको स्थानमा क्वारेन्टाइन बस्नु पर्नेछ।

नयाँ कोरोना भाइरसलाई नियन्त्रण गर्ने उपायअन्तर्गत जापान सरकारले विदेशीबाट आउने आगन्तुकहरूलाई सिद्धान्ततः १४ दिन क्वारेन्टाइन बस्ने अनिवार्य निर्णय गरेको छ। तर, जहाँ ‘म्युटेन्ट भाइरस’ संक्रमण फैलिएको छ, त्यस देशका मानिसका लागि अतिरिक्त नियम पालना गर्नुपर्ने प्रावधान तोकेको हो।

नेपालबाट आउने जो कोहिले जापान प्रवेश गर्नुअघि हालको जस्तै पीसीआर रिपोर्ट नेगेटिभ ल्याउनु पर्नेछ। यसबाहेक जापानको विमानस्थलमा पीसीआर परीक्षण हुनेछ। विमानस्थलको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपनि विमानस्थल अध्यागमनले तोकेको स्थानमा ६ दिन क्वारेन्टाइन बस्नु पर्नेछ।

६ दिनपछि गरिएको पीसीआर रिपोर्ट नेगेटिभ आएमात्र नेपालीहरूले बासस्थान जानसक्ने छन्, जहाँ थप ८ दिन क्वारेन्टाइन बस्नु पर्नेछ। जापान प्रवेशपछि तोकिएको स्थानमा ६ दिन क्वारेन्टाइन बस्नुपर्दाको सम्पूर्ण खर्च व्यक्ति स्वयमले तिर्नु पर्नेछ।

जापान सरकारले यो नियम यसै महिना अर्थात् मे १० तारिखबाट लागू गराउने भएको छ। यसअघि मलेसियामा पनि नेपालीहरूलाई उच्च निगरानीमा राखिएको छ।



No ads found for this position