मलेसियाको ‘रेड जोन’मा नेपाल, कुनैपनि बेला नेपालीलाई प्रवेश निषेध

मलेसियाको ‘रेड जोन’मा नेपाल, कुनैपनि बेला नेपालीलाई प्रवेश निषेध फाइल फोटो

क्वालालम्पुर। नेपालमा कोरोना संक्रमणको नयाँ ‘भेरियन्ट’ फेला परेसँगै मलेसियाले नेपाललाई संक्रमणको उच्च जोखिमको सूचीमा राखेको छ।

नेपालमा दैनिक ८ हजारको हाराहारीमा कोरोना संक्रमित फेला पर्न थालेका छन् भने दैनिक ५० भन्दा बढीको मृत्यु भइरहेको छ।

कोरोनाको उच्च जोखिममा परेका कारण मलेसियाले श्रीलंका, बंगलादेश र पाकिस्तानसँगै नेपालीहरूलाई कुनैपनि बेला प्रवेश निषेध गर्ने सभ्भावना प्रबल छ।

भारतीय नागरिकलाई यसअघि नै मलेसियाले भ्रमण प्रतिबन्ध लगाइसकेको छ। दक्षिण एसियाली देशमा अहिले कोरोनाको ‘भारतीय भेरियन्ट’ फैलिरहेको छ। यसले सबै देशमा उच्च जोखिम बढाएको मलेसियास्थित समाचार एजेन्सीले दावी गरेको छ।

मलेसियाका बरिष्ठ मन्त्री दातो सेरी इस्माइल साब्री याकोबले यस कुराको पुष्टी गरिसकेका छन्। उनले कहिलेदेखि यात्रा प्रतिबन्ध लगाउने तयारी छ, यस विषयमा तत्काल कुनै जानकारी दिएका छैनन्। तर, छिट्टै लागु हुनसक्ने तर्फ इसारा गरेका छन्।

‘यी देशबाट कामका लागि आउने नागरिक तथा व्यवसायीको भ्रमण भिसा केही समयका लागि रोकिन सक्छ,’ उनले भने। भियना कन्भेन्सनअन्तर्गत डिप्लोम्याटहरूको भिसालाई भने यथावत राख्न सकिने उनले भनाई थियो। तर, यसका लागि पनि कोभिडको नियम पालना गर्नुपर्ने सर्तअघि सारिएको छ।

मलेसियाले भारतबाट आउने सबै जहाजलाई केही समयका लागि प्रतिबन्ध लगाइसकेको छ। मलेसियामा रोजगारी पाइसकेका भारतीय श्रमिकलाई पनि प्रवेश निषेध गरिएको छ। हाल बाहिरबाट मलेसिया पुग्ने मानिसलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्न निर्देशन दिइएको छ।