वरिष्ठ संगितकार प्रेमध्वज प्रधानको निधन

वरिष्ठ संगितकार प्रेमध्वज प्रधानको निधन

काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहीबार उनको सुनधारास्थित न्यूरो एण्ड डेण्टल अस्पतालमा निधन भएको संगीतकार संघका पूर्व अध्यक्ष लक्ष्मण शेषले बताए ।

केही दिन अघि उनलाई छातीमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । पूर्व अध्यक्ष शेषका अनुसार ध्वजको उपचार गर्नुअघि गरिएको कोरोना परिक्षण भने नेगेटिभ आएको थियो । अहिले पूर्व अध्यक्ष शेषले विस्तृत बुझ्न आफू पनि अस्पताल गइरहेको बताएका छन् ।

८४ बर्षका प्रधानको जन्म १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा भएको थियो । प्रेमध्वजलाई नेपाली सांगीतिक क्षेत्रमा ‘गोल्डेन भ्वाइस’ उपनामले पनि चिनिन्छ । सन् १९६५ मा प्रेमध्वजले उषा मंगेश्करसँग नेपाली चलचित्र ‘माइतीघर’मा गीत गाएका थिए । यस्तै उनले आशा भोस्लेसँग ‘मायालु इन बम्बे’ नामक चलचित्रमा पनि स्वर दिएका थिए ।

सन् १९५२ मा प्रेमध्वजले १६ बर्षकै उमेरमा ‘याद कसैको आइरहन्छ यो अन्धेरी रातमा’ बोलको गीत रेकर्ड गराएका थिए । प्रधानका यो नेपाली शीर उचाली, पर लैजाऊ फूलहरु, घुम्तीमा नआऊ है लगायतका गीत चर्चित छन् ।