एनआरएनए अध्यक्ष पन्तको अवस्था सुधारउन्मुख, अक्सिजन हटाइयो

एनआरएनए अध्यक्ष पन्तको अवस्था सुधारउन्मुख, अक्सिजन हटाइयो

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तको स्वास्थ्यमा सुधार आएको छ।

गत सोमबारदेखि भैंसेपाटीस्थित मेडिसिटी अस्पातलमा उपाचरार्थ पन्तको स्वास्थ्यमा क्रमिक सुधार देखिएको हो। उनलाई आइतबार कोरोना पुष्टी भएको थियो।

‘अहिले स्वास्थ्यमा सुधार आएको छ। पहिलाभन्दा सहज महशुस भइरहेको छ,’ पछिल्लो स्वास्थ्य अवस्था बारे जानकारी दिँदै पन्तले प्रवास खबरसँग भने।

सयभन्दा बढी ज्वरो बढेपछि उनले पीसीआर टेस्ट गराएका थिए। उनको पीसीआर रिपोर्ट आइतबार आएको थियो भने सोमबार अस्पताल भर्ना भएका थिए। अस्पताल भर्ना हुँदा उनको स्वासप्रश्वासमा समेत समस्या देखिएको थियो। अक्सिजनको लेवल पनि कम थियो। अस्पतालमा उनलाई अक्सिजन दिइएको थियो।

‘आज बिहानदेखि अक्सिजन लिनुपरेको छैन,’ पन्तले भने। पन्त विगत एक महिनादेखि काठमाडौँमा छन्। पछिल्लो समय संघकै कामले गर्दा उनको काठमाडौँमा व्यस्तता बढेको थियो।