अस्पतालको पीसीआर रिपोर्ट शंकास्पद, विदेश जान रोकिए दुई युवा

अस्पतालको पीसीआर रिपोर्ट शंकास्पद, विदेश जान रोकिए दुई युवा

काठमाडौं । साढे तीन वर्षअघि झापा गौरादहका दिपक खड्का वैदेशिक रोजगारीका लागि ओमनको मस्कट पुगेका थिए। तर, उनी ६० वर्षीय क्यान्सर पिडित आफ्नो पिता बीरबहादुर खड्काको काजक्रिया गर्न आकस्मिक विदा मागेर गत अप्रिल ५ तारिख नेपाल फर्किए।

१३ दिनको काजक्रिया सकेर सोमबार बेलुका साढे ७ बजे फ्लाई दुबईबाट मस्कट फर्किन लागेका उनै दिपक अस्पतालको चरम लापरवाहीका कारण काममा पुनः फर्किनबाट बञ्चित भएका छन्।

मस्कटमा उनी काम गर्ने रेडिसन ब्लु होटलले कोरोना महामारीकाबीच पनि मानवीय संवेदना देखाउँदै बिदा उपलब्ध गराएको थियो। तर, यहाँबाट फर्किनेबेला भक्तपुर अस्पतालले उनको कोरोना रिपोर्ट पोजेटिभ देखाएपछि उनी चाहेर पनि ओमन फर्किन सकेनन्।

भक्तपुर अस्पतालको रिपोर्टमा विश्वास नलागेपछि दिपकले भैसेपाटीस्थित मेडीसिटीमा पीसीआर परीक्षण गराएका थिए। जसको रिपोर्ट नेगेटिभ आएको थियो।

‘भक्तपुर अस्पतालले लक्ष्ण बिना नै पोजेटिभ रिपोर्ट दियो। यसका कारण मेरो मस्कट जाने प्लेन छुट्यो। टिकट बर्बाद भयो। यसको हर्जना कसले बेहोर्ने?,’ दिपकले प्रवास खबरसँग दुःखेसो पोखे।

दिपक मस्कटस्थित रेडिसन ब्लु होटलमा हाउसकिपिङ सुपरभाइजरको काम गर्दै आइरहेका छन्। काममा फर्किन उनले आइतबार बिहान १० बजे भक्तपुर अस्पतालमा पीसीआर परीक्षणको लागि स्वाब दिएका थिए । सोमबार मध्यान्ह १२ बजे अस्पतालले बुझाएको रिपोर्टमा उनलाई कोरोना ‘पोजेटिभ’ भएको देखाइएको थियो। संक्रमण पुष्टि भएपछि उनको मस्कट जाने बाटो बन्द मात्र भएन, ‘नन् रिफण्डेबल’ टिकट भएका कारण पैसा पनि गुमाए।

आफू सामान्य अवस्थामा रहेका कारण उनलाई भक्तपुर अस्पतालको रिपोर्ट चित्त बुझेन। त्यसैले उनले सोमबार दिउँसो १ बजे मेडिसिटीमा पीसीआर टेस्टका लागि आफ्नो स्वाब दिएका थिए। मंगलबार बिहान ७ बजे मेडिसिटीले उपलब्ध गराएको स्वाबको रिपोर्ट ‘नेगेटिभ’ आएको थियो।

‘परिवारको सुरक्षाका लागि पनि मैले पुनः परीक्षण गरेको हुँ। तर, रिपोर्ट नेगेटिभ आउँदा ठगिएको महसुस गरिरहेको छु,’ उनले भने, ‘मलाई भक्तपुर अस्पतालको रिपोर्टमाथि शंका लागेको छ। यसको उजुरी कहाँ गर्ने?’

उनी अस्पतालको लापरवाहीले गर्दा आफू समयमा मस्कट उड्न नपाएको बताउँछन्। खड्का जस्तै काठमाडौंको पेप्सीकोलामा बसोबास गर्ने अविनास महर्जनको पनि उस्तै नियती भएको छ। उनी पनि सोमबारको उडानबाट मस्कट उड्न लागेका थिए। उनले पनि सुरुमा झक्तपुर अस्पतालबाटै पीसीआर परीक्षण गराएका थिए। उनको पनि रिपोर्ट पोजेटिभ आएको थियो। तर, पछि मेडिसिटीमा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो।

‘कि अब भक्तपुर अस्पतालको रिपोर्ट गल्ती हुनुप¥यो वा मेडिसिटीको। ठगिन् त हामी ठगिसक्यौं,’ दिपकले भने।