कोरोनामा पनि नेपाल छोड्नेको भीड, आगमन भने शुन्य

कोरोनामा पनि नेपाल छोड्नेको भीड, आगमन भने शुन्य फाइल फोटो

काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरले आक्रामक रुप लिँदै गएपछि अहिले देशका ४० भन्दा बढी जिल्लामा निषेधाज्ञा गरिएको छ ।

यस्तो अवस्थामा पनि विदेश जानेको संख्या उस्तै छ । मंगलबार प्रवास खबरको टिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा प्रस्थान कक्षमा देश छोड्ने मानिसहरुको भीड देखिन्थ्यो ।

सरकारले निषेधाज्ञालाई कडा बनाउँदै अन्तर्राष्ट्रिय उडान रोक्ने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल छाड्नेहरुको भीड बढेको हो ।
नेपाल सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले २३ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको थियो ।

आन्तरिक तर्फको सम्पूर्ण उडान आजैबाट बन्द गरिएपनि अन्तर्राष्ट्रिय उडान भने आगामी २३ गतेबाट बन्द गरिँदैछ । अन्तर्राष्ट्रिय उडान रोकिने भएपछि नेपाल छोडेर जानेको भीड विमानस्थलमा बढेको छ । आगामी २३ गतेपछि उडान तालिका भएका विमान कम्पनीहरुले पनि तालिका संशोधन गरेर अगाडी नै यात्रु उडाउन लागेका छन् ।

विमानस्थलमा हातमा पासपोर्ट र झोला बोकेर उभिएका सन्ताेष क्षेत्री भन्छन्, ‘म १५ दिनपछि विदेश जाने तयारीमा थिएँ तर, सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गर्ने भएपछि चाँडै जानु परेको छ ।’ विमानस्थलको प्रस्थान कक्षमा भीड भएपनि आगमन कक्ष भने सुन्य थियो । फाट्ट फुट्ट रुपमा केही मानिसहरु मात्रै आएका देखिन्थे ।

सरकारले कोरोनाको संक्रमण झन बढ्दै गएपछि आवागमनको सम्पूर्ण गतिविधि रोक्ने तयारी गरिरहेको छ । १६ गतेदेखि एक हप्ताको लागि जारी भएको उपत्यकाको निषेधाज्ञा अहिले थपेर वैशाख मसान्तसम्म पु¥याएको छ ।