भारतबाट फर्किएका सङ्क्रमितका लागि छुट्टै आइसोलेशनको व्यवस्था

भारतबाट फर्किएका सङ्क्रमितका लागि छुट्टै आइसोलेशनको व्यवस्था

नेपालगन्ज । भारतबाट घर फर्किएका कोरोना सङ्क्रमितलाई राख्न नेपालगञ्जमा छुट्टै आइसोलेशन केन्द्र सञ्चालन गरिएको छ । भारतबाट फर्किने क्रममा नेपालगञ्जस्थित जमुनाह नाकामा कोभिड पोजिटिभ भएका व्यक्तिलाई राख्न नेपालगञ्ज उपमहानगरपालिकाले मनिकापुरमा ह्वाइट हाउस आइसोलेसन सञ्चालन गरेको नगरप्रमुख डा.धवलशम्शेर राणाले बताए ।

उनका अनुसार भारतबाट फर्किएका सङ्क्रमितलाई राख्न वडा नं २० मनिकापुरमा छुट्टै आइसोलेशन सञ्चालन गरिएको हो । यहाँ होम आइसोलेशनको असुविधा भएका नगरवासी र बाहिरी जिल्लाका सङ्क्रमितलाई सेवा दिइने छ ।

ह्वाइट हाउस आइसोलेशन सेन्टरबाट यही वैशाख ४ गतेदेखि हालसम्म ५७ सङ्क्रमितले सेवा पाएको आइसोलेशन सेन्टरका स्वास्थ्य स्रोत व्यक्ति सिनियर अहेब गोरखनाथ योगीले जानकारी दिए । आजसम्म यहाँ बाहिरी जिल्लाका २५ जनासहित ४१ जना रहेका छन् । यो आइसोलेशनमा २५ महिला र २५ पुरुषलाई राख्न सकिने गरी शैय्याको व्यवस्था मिलाइएको छ ।

कोभिड सङ्क्रमित भएपछि होम आइसोलेशनको सुविधा नभएका नगरवासीले ह्वाइटहाउस आइसोलेशनबाट सेवा लिइरहेका छन् । यो सेन्टरमा सामान्य अवस्थाका कोभिड सङ्क्रमितलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखिएको उपमहानगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामबहादुर चन्दले बताए।

उनका अनुसार लक्षणका बिरामीलाई राख्नका लागि उपमहानगरपालिकाले रामलिला मैदानस्थित तालीम केन्द्रमा ५० श्ययाको अक्सिजनको आइसोलेशन सेन्टर आज दिउँसोदेखि सञ्चालनमा ल्याएको छ । आइसोलेशनमा बस्नेलाई खाना र खाजाको व्यवस्था गरिएको छ । यसैगरी बिरामी ल्याउनका लागि निःशुल्क एम्बुलेन्स सेवा दिइनेछ । उपमहानगरपालिकाका २३ वटै वडामा रहेका होम आइसोलेशन स्रोत व्यक्तिको सिफारिसका आधारमा सङ्क्रमितलाई राखिने भएको छ ।