अनलाइनबाटै मानसिक स्वास्थ्य परामर्श सेवा सुरु

अनलाइनबाटै मानसिक स्वास्थ्य परामर्श सेवा सुरु

काठमाडौं । ‘ह्यापी माइन्स् डट हेल्थ’ले अनलाइनमार्फत मानसिक परामर्श सेवा सुरु गरेको छ । यो सेवा भने जीजी कर्पोरेसन प्रालिद्धारा सञ्चालनमा ल्याएको हो।

संस्थाका अनुसार यो सेवामार्फत मानसिक जागरुकता बढाउने, मानसिक स्वच्छता र मानसिक स्वास्थ्यसम्बन्धी प्राथमिक चिकित्सकिय सहायता प्रदान गरिनेछ । कोभिड १९ को महामारीको त्रासमा मानिसहरुमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको हुँदा अनलाइनमार्फत परामर्श दिने हेतुले यो सेवा सञ्चालनमा ल्याएको हो ।

‘ह्यापी माइन्स् डट हेल्थ’को उद्घाटन गर्दै सामाजिक अभियन्ता आनी छ्योइङ डोल्माले सही समयमा सेवा सञ्चालनमा ल्याएको बताइन् । साथै उनले युवाहरुलाई अनिवार्य ध्यान गर्न समेत सुझाव दिएकी छिन् ।

मनोचिकित्सक डा. सुरज शाक्यको नेतृत्वमा सञ्चालनमा आएको यो सेवामा नेपाल, अमेरिका र अष्ट्रेलियामा कार्यरत मनोविशेषज्ञले परामर्श प्रदान गर्नेछन् । कोभिड १९ को समय मानिसमा थप मानसिक समस्या देखिन थालेको डा. शाक्यको भनाइ छ । उनका अनुसार मानसिक समस्यालाई बेलैमा समाधान गर्न नसक्दा डिप्रेसन तथा आत्महत्याका घटना घट्ने गरेको छ ।

कोरोनाको प्रकोपमा विश्वभर मानसिक समस्या विकराल बनिरहेको अवस्थामा नेपाल पनि यो समस्याबाट अछुतो रहन सकेको छैन । यही समस्याको न्यूनिकरण र निराकरण गर्ने उदेश्यका साथ यो सेवाको सुरुवात गरिएको संस्थाका प्रबन्ध निर्देशक श्रेया गिरीको भनाइ छ।

कोभिड १९ को सुरुवाती समयमा लन्डनमा स्नातकोत्तर अध्ययन गर्दै गरेकी गिरी पनि मानसिक स्वास्थ्य समस्याबाट गुज्रिएकी थिइन् । उक्त समय उनले मानसिक समस्याले पारेको प्रभाव र मनोचिकित्सकको खोजीमा समस्या भोग्नुपरेको थियो ।

आफूले भोग्नुपरेको समस्यालाई मध्यनजर गर्दै उनले अनलाइनमार्फत ह्याप्पी माइन्ड्स डट हेल्थ सेवा सुचार गरिएको उनले बताइन् । कार्यक्रममा सिंगापुर रेडक्रसकी प्रतिनिधि कल्पना क्षेत्री, इथियोपियाका लागि मानार्थ महावाणिज्यदूत राजेन्द्र गिरी, नर्थफेस, टिम्बरल्याण्ड र कोलम्बिया ब्रान्डकी सञ्चालक डिकिला लामा लगायत उपस्थित थिए ।