भारतमा कोरोना सङ्क्रमणबाट एकैदिन ३ हजार २२९ को निधन

भारतमा कोरोना सङ्क्रमणबाट एकैदिन ३ हजार २२९ को निधन सांकेतीक तस्वीर

नयाँदिल्ली । भारतमा छिल्लो २४ घण्टायता ३ हजार २२९ जनाको कोरोनसङ्क्रमणका कारण मृत्यु भएको छ । यससँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख १ हजार १८७ पुगेको यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालउले जनाएको छ ।

भारतमा एकै दिन कोरोनाबाट ठूलो संख्यामा मृत्यु भएको यो पहिलो घटना हो । मङ्गलबार थप ३ लाख ६० हजार ९६० जनामा कोरोना सङ्क्रमण देखिएको छ । यससँगै भारतमा कोरोनाबाट संक्रमण हुनेको संख्या १ करोड ७९ लाख ९७ हजार २६७ पुगेको छ ।

एकै दिन तीन लाखभन्दा बढीमा कोरोना भाइरस सङ्क्रमित भेटिएको यो सातौँ दिन हो । कोरोना महामारी शुरु भएयता विश्वमा भएका सङ्क्रमणको तुलनामा यो ठूलो सङ्ख्या भएको सरकारी अधिकारीले बताएको छ ।

भारतमा हाल २९ लाख ७८ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा हालसम्म १ करोड ४८ लाख १७ हजारभन्दा बढी कोरोना मुक्त भएका छन् । भारतमा गत जनवरी १६ देखि कोरोना भाइरस विरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट अहिलेसम्म भारतमा १४ करोड ५५ लाख भन्दा बढी व्यक्तिले खोप लगाएका छन् ।