पूर्वीनाकामा भारतीय नागरिकको आगमनमा रोक

पूर्वीनाकामा भारतीय नागरिकको आगमनमा रोक

झापा । पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको आगमनमा रोक लगाएको छ । भारतमा कोभिड–१९ को संक्रमण अधिक बढिरहेको हुँदा पूर्वसतर्कता अपनाउँदै भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।

पछिल्लो समय दैनिक ७ सय भन्दा बढी पूर्वीनाका मार्फत नेपाल प्रवेश गर्ने र १ हजारको हाराहारीमा नेपालबाट भारत जाने गरेका छन् । अतिआवश्यक कामबाहेक नेपाल आउन चाहने भारतीय नागरिकलाई नाकामै रोकेको थापाले बताए । भारतमा कोरोना भाइरसको सङ्क्रमणदर बढेको हुँदा बाध्य भएर नेपालको हितका लागि नाकामा थप कडाइ गरेको उनको भनाई छ ।

भारतमा बसेर रोजगारी गर्ने, काम विशेषले भ्रमण गर्ने र अध्ययनका लागि गएका नेपाली भने नेपाल फर्किरहेका छन् । सीमामा पिसिआर रिपोर्ट हेरेर मात्रैनेपाल भित्रिन दिइएको छ । नेपालमा बसेर काम गरिरहेका मजदुरको ठूलो सङ्ख्या हाल भारत फर्किरहेको छ । उनीहरूलाई परिचयपत्रका आधारमा भारत जान दिइएको छ ।

सीमावर्ती शहरमा आँखाको उपचार गर्न र ज्यालादारी काम गर्न दैनिक सयौँको सङ्ख्यामा भारतीय नागरिक नेपाल आउने गरेका छन् । सीमामा होल्डिङ सेन्टरको व्यवस्थापन नभइसकेको र जाँचसमेत भरपर्दो नभएको अवस्थामा भारतीय नागरिकको खुला आगमनले कोभिड–१९ को सङ्क्रमण फैलिने त्रास बढेको थियो ।