कोरोना महामारी प्रभाव : कुवेतमा श्रमिकको चरम अभाव

कोरोना महामारी प्रभाव :  कुवेतमा श्रमिकको चरम अभाव

कुवेत । कोरोना भाइरसको दोस्रो लहरले महामारीको रुप लिएसँगै विश्व श्रम बजारमा पनि यसको असर देखा पर्न थालेको छ। यससंगै स्वास्थ्य सम्बन्धि अपनाउनुपर्ने सावधानीका  केहि नियमका कारण कुवेतको श्रम बजारमा असर परेको छ।

सरकारले आप्रवासी श्रमिकहरुलाई कुवेत प्रवेशमा रोक लगाएसंगै कुवेतका व्यवसायीहरुले स्वास्थ्य सेवाका आवश्यक मापदण्ड अपनाउँदै वैदेशिक राहदानीका लागि प्रवेश अनुमति दिन बारम्बार सरकारी एजेन्सीहरुलाई अनुरोध गरेका छन्। एक तथ्याङ्क अनुसार हाल ३ लाख ५० हजार श्रमिकसंग बैध आवासीय अनुमति छ भने १ लाख ५० हजार श्रमिकले स्थायी रुपमा कुवेत छाडिसकेका छन्। त्यसकारणले पनि आबस्यक स्वास्थ्य सावधानी अपनाउदै श्रमिकलाई प्रवेश अनुमति दिनुपर्ने आवश्यकता देखिएको छ।

मानव संसाधन कम्पनीका एक अधिकारीका अनुसार श्रमिकको अभाव विगतभन्दा दोब्बर भएको छ। यसै क्रममा कम्पनीहरुले पब्लिक सवारी र हेभी सवारिचालाकको अभाव खेप्नु परेको छ । त्यस्तै मेकानिक्स , मेण्टिनेन्स , सरसफाइ, निर्माण लगायतका क्षेत्रहरुमा एकाएक दक्ष प्राविधिकको अभाव भएको छ।

कृषि र ठेकेदार सेवा सम्बन्धि एक समूह चलाउदै आएका युसुफ अल शम्मारिकाका अनुसार कृषि क्षेत्रमा भएको अभाव अत्याधिक रुपले बढेको छ। यस अघि प्रति श्रमिक १२० कुवेती दिनार दिदै आएकोमा श्रमिकको अभावले गर्दा प्रति श्रमिक ३५० कुवेती दिनार तिर्नु परेको उनले बताए। कृषि क्षेत्रका श्रमिकलाई अन्य क्षेत्रमा स्थानान्तारण गर्न पाउने व्यवस्थाले गर्दा पनि यस क्षेत्रमा श्रमिकको चरम अभाव देखिएको उनको भनाइ छ। मत्स्य (माछा) तर्फ पनि श्रमिकको अभाव त्यस्तै छ।

स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार असन्तुष्ट श्रमिकहरुलाई कुवेत फिर्ता बोलाउनका लागि अध्ययन गर्नुका साथै कोरोना भाइरस महामारिसँग सम्बन्धित घटनाक्रमहरुको अनुसरण गरे नगरेको यकिन गर्नुपर्ने देखिन्छ। कोरोनाको बक्ररेखा एक देशदेखि अर्को देशसंग सम्बन्धित हुने हुनाले सबै देशहरुबाट आफ्ना श्रमिकहरुलाई फिर्ता बोलाउनको लागि सिफारिस गर्ने बिषय झन् जटिल बनेको छ।

कुवेतमा मुख्य गरि मत्स्य, रेस्टुरेन्ट, फार्ममा दक्ष प्राबिधिक, निर्माण जस्ता क्षेत्रमा श्रमिकको चरम अभाव देखिएको छ। हाल कुवेतमा १५ लाख ८६ हजार ४९४ प्रवासी श्रमिकहरुले काम गर्दै आएका छन् । २०२० मा १ लाख ५१ हजार ९९० श्रमिकले स्थायी रुपमै कुवेत छाडिसकेका छन् । ३ लाख ५० हजार श्रमिकहरु बैध रुपमा आप्रवासीको रुपमा बस्दै आएका छन्। यसरि कुवेतको श्रम बजारले श्रमिकको अभाव झेल्नु परेको छ।

महामारीको अबस्था देश अनुसार फरक फरक रहेको छ। तसर्थ खोप लगाएका श्रमिकलाई पनि निर्धक्कका साथ प्रवेशको ग्यारेन्टी दिने अवस्था छैन। भारतजस्ता केहि देशहरुमा कोरोना भाइरसको महामारी रुप देखा परेसंगै यसको त्रास झनै बढ्दो छ।