निषेधाज्ञा जारी गर्ने निर्णयसँगै नयाँ बसपार्कमा यात्रुको भिड

निषेधाज्ञा जारी गर्ने निर्णयसँगै नयाँ बसपार्कमा यात्रुको भिड साँकेतिक तस्बिर

काठमाडौं । गोङ्गबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीडभाड बढेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि काठमाडौँ उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेसँगै घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो ।

अन्य समयमा यात्रु नपाएर खाली हिँड्न बाध्य रहेका सार्वजनिक यातायात सोमबारको उक्त निर्णयसँगै भरिभराउ यात्रु बोकेर गन्तव्यतर्फ लागेका छन् । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले दुई दिन यात्रुलाई घर जाने समय दिएको बताएसँगै आज बिहानैदेखि नयाँ बसपार्कमा घर जाने यात्रुहरुको भीड लागेको हो ।

लामो दूरीका सार्वजनिक यातायातमा सिट नपाएको यात्रुले गुनासो गरेका छन् । बझाङ जानका लागि टिकट काट्न सोमबार साँझ नयाँ बसपार्क पुगेका जयराज जोशीले टिकट नपाएको गुनासो गरे । लामो दूरीका सवारी साधन थोरै भएका कारण पनि नयाँ बसपार्कमा टिकट अभाव भएको हो ।

नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले बिहानदेखि नै नयाँ बसपार्कमा भीडभाड बढेको बताए । नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन् । नयाँ बसपार्कमा दैनिक ८०० देखि १ हजार सार्वजनिक यातायात दैनिक ओहोरदोहोर गर्दै आएका छन् ।