कोभिड–१९ बाट प्रभावित भारतलाई विभिन्न मुलुकको सहयोग

कोभिड–१९ बाट प्रभावित भारतलाई विभिन्न मुलुकको सहयोग

नयाँ दिल्ली । कोभिड–१९ को दोस्रो लहरले भारतमा भयावह अवस्था निम्त्याएको छ । यो अवस्थामा भारतलाई अमेरिकासहित विश्वका कैयौँ देशले आपतकालीन स्वास्थ्य सामग्री तथा औषधि सहयोगको बाचा गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले भारतलाई आवश्यक र सक्दो सहयोग गर्ने बताएका छन् । भारतले अमेरिकालाई महामारीको सुरुवाती चरणमा सहयोगका गरेको थियो भने अब भारतलाई मद्दत गर्ने राष्ट्रपति बाइडेनले बताए । यसअघि भारतमा कोभिड विरुद्धको खोप आस्ट्राजेनेका खोप निर्माणका निम्ति आवश्यक कच्चा पदार्थमा अमेरिकाले रोक लगाएको थियो । बाइडेनले उक्त निर्यात प्रतिबन्धलाई अमेरिकाले हटाइदिएको जानकारी दिएका छन् ।

बेलायतले भारतमा भेन्टिलेटर तथा अक्सिजनको प्रयोगका लागि आवश्यक उपकरणहरू पठाउन थालेको छ । युरोपेली युनियनका सदस्य राष्ट्रहरूले पनि भारतलाई विभिन्न खालको सहयोग पठाउँदैछन् ।

भारतको राजधानी नयाँ दिल्लीका अस्पतालहरू बिरामीले भरिएका छन् । ठाउँ अभाव भएपछि यहाँ आएका विरामीलाई अस्पतालले फर्काउँदैछन् । अवस्था गम्भिर भएकोले दिल्लीमा लकडाउन पनि लम्ब्याइएको छ ।

अस्पतालमा अक्सिजनको अभाव भएसँगै भारत सरकारले अक्सिजनको उत्पादन बढाउने योजना थालेको छ । भारतले देशभरमा ५०० वटा अक्सिजन उत्पादनसम्बन्धी कारखाना खोल्न अनुमति दिएको बताइएको छ ।