सुर्खेत र बर्दियामा एक साता निषेधाज्ञा

सुर्खेत र बर्दियामा एक साता निषेधाज्ञा

काठमाडौं । दोस्रो चरणको कोरोना सङ्क्रमणको अवस्था भयावह बन्न थालेपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक सातासम्म निषेधाज्ञा जारी हुने भएको छ । कोरोना सङ्क्रमण तीव्र बन्दै गएको अवस्थालाई ध्यानमा राखी जिल्ला कोभिड–१९ विपद व्यवस्थापन केन्द्रले एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

यही वैशाख १४ गते राति १२ः०० बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी हुनेछ । नागरिकको भीड कम गरी सङ्क्रमण फैलन नदिन निषेधाज्ञा जारी गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । अत्यावश्यकीय सेवा प्रवाहका लागि खानेपानी, विद्युत्, बैंक तथा वित्तिय क्षेत्रमा सुरक्षा मापदण्ड पालना गर्दै सेवा प्रवाह गर्न प्रशासनले निर्देशन दिएको हो ।

सङ्क्रमितको शीघ्र उपचारका लागि प्रदेश अस्पताललाई तयारी हुन निर्देशन दिइएको र सुर्खेतमा आइसोलेशन निर्माणको पहल भइरहेको छ । भारतबाट आउने कर्णालीका नागरिकलाई सीमा नाकामा जाँच गर्ने र गम्भीर खालका सङ्क्रमितलाई बाँकेमै उपचार गर्ने गरी पहल भइरहेको सहायक प्रजिअ रोमबहादुर महतले जानकारी दिएका छन् ।

छिमेकी जिल्ला बाँकेमा कोरोना भाइरसको सङ्क्रमण दिनहुँ बढ्दै गएपछि बर्दियामा जोखिम कम गर्न एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले सोमबार राति १२ बजेदेखि लागु हुने गरी वैशाख १९ गतेसम्म निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा अवधिभर स्वास्थ्य मापदण्ड पालना गर्दै अत्यावश्यक सेवा तथा विकास निर्माणबाहेक सम्पूर्ण सेवा र कार्यमा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए ।