कोरोना भाइरस : विश्वभर १४ करोड ४७ लाखमा संक्रमण, ३१ लाख १३ हजार बढीले ज्यान गुमाए

कोरोना भाइरस  : विश्वभर १४ करोड ४७ लाखमा संक्रमण, ३१ लाख १३ हजार बढीले ज्यान गुमाए

काठमाडौं । विश्वव्यापी महामारी कोभिड–१९ को संक्रमणबाट विश्वभर ३१ लाख १३ हजार २८४ जनाले ज्यान गुमाएका छन् । तीमध्ये अमेरिकामा मात्रै ५ लाख ३२ हजार बढीको मृत्यु भइसकेको छ ।

२०१९ को अन्तिममा चीनको वुहानबाट सुरु भएको कोभिड–१९ को संक्रमण फैलन थालेको झन्डै डेढ वर्ष बित्न थालेको छ । २०२१ को २५ अप्रिलमा सार्वजनिक भएको तथ्याङ्क अनुसार कोभिड–१९ बाट विश्वरभर १४ करोड ७० लाख ९१ हजार ८४९ जना संक्रमित भइसकेका छन् । तीमध्ये १२ करोड ४७ लाख ३० हजार १२१ जना भने कोरोना मुक्त भइसकेका छन् । हाल विश्वभर १ करोड ९२ लाख ४८ हजार ४४४ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

कुन देशमा कति संक्रमित ?

विश्वकै सबैभन्दा बढी संक्रमण फैलिएको देश अमेरिका रहेको छ । हालसम्म यहाँ ३ करोड २७ लाख ८९ हजार ६५३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये २ करोड ५३ लाख ३९ हजार ८७४ जना कोरोना मुक्त भएका छन् । हाल अमेरिकामा ६८ लाख ६३ हजार ८९९ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ९ हजार ९४४ जनाको अवस्था भने गम्भिर रहेको छ ।

अमेरिकामा हालसम्म कोरोना संक्रमणका कारण ५ लाख ८५ हजार ८८० जनाले ज्यान गुमाइसकेका छन् । अमेरिकामा दैनिक हजारौंको संख्यामा कोरोना संक्रमण भेटिने गरेको छ ।

केही दिनदेखि छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको संख्या अधिक मात्रामा बढ्न थालेको छ । भारत विश्वमै कोरोना संक्रमितको संख्या उच्च रहने दोस्रो मुलुक बनेको छ । साथै दैनिक लाखौंको संख्यामा कोरोना संक्रमित भेटिने विश्वकै पहिलो मुलुक रहेको छ । शनिबार एकैदिन ३ लाख ४९ हजार ३१३ जना संक्रमित भेटिएका थिए । यससँगै भारतमा हालसम्म संक्रमितको संख्या १ करोड ६९ लाख ५१ हजार ७६९ पुगेको छ ।

यसअघि विश्वमै अमेरिकापछि कोरोना संक्रमित उच्च रहने देशको रुपमा ब्राजिल रहेको थियो । तर कोरोना संक्रमितको मृत्युदर भने ब्रालिजमा नै धेरै रहेको छ । भारतम हालसम्म १ लाख ९२ हजार ३१० जनाको मृत्यु भइसकेको छ । हाल भारतमा २६ लाख ८१ हजार ३७८ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ को अवस्था भने गम्भिर रहेको छ । शनिबार मात्रै २ हजार ७६१ जनाले कोरोनाका कारण ज्यान गुमाएका थिए ।

कोरोना संक्रमण अधिक फैलने देशमध्ये ब्राजिल तेस्रो देश रहेको छ । ब्राजिलमा हालसम्म १ करोड ६९ लाख ५१ हजार ७६९ जना संक्रमण भइसकेका छन् । तीमध्ये १ करोड २७ लाख ६६ हजार ७७२ जना निको भइसकेका छन् ।
ब्राजिलमा कोरोना संक्रमणबाट हालसम्म ३ लाख ८९ हजार ६०९ जनाले ज्यान गुमाइसकेका छन् । हाल ब्राजिलमा ११ लाख ५१ हजार ८३४ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ३१८ जनाको अवस्था गम्भिर रहेको छ ।

यसबाहेक फ्रान्स, रसीया, टर्की, बेलायत, इटाली लगाएत देशमा कोरोना भाइरस संक्रमण तिव्र रुपमा फैलिरहेको छ ।