जापानमा तेस्रो आपतकाल : टोकियो, ओसाका, ह्योगो र क्योतो क्षेत्रमा

जापानमा तेस्रो आपतकाल : टोकियो, ओसाका, ह्योगो र क्योतो क्षेत्रमा

टोकियो । कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि जापानले देशमा तेस्रो पटक घोषणा गरेको आपतकाल आइतबारबाट सुरु भएको छ।

राजधानी टोकियो र पश्चिमी जापानको ओसाका, क्योतो र ह्योगोमा कोरोना भाइरसविरूद्ध कडा कदमहरू आइतवारबाट लागू भएको छ । देशभर कोरोना भाइरसका घटनाहरूमा वृद्धि जारी रहँदा सरकारले उच्च संक्रमण रहेका चार शहरी प्रान्तमा आपतकालीन अवस्थाको तेस्रो घोषणा लागू गरेको हो।

आपतकालीन अवस्थामा नयाँ प्रतिबन्ध अन्तर्गत मदिरा र चलचित्र थिएटर सेवा गर्ने रेस्टुरेन्टहरूका अपरेटरहरू अस्थायी रूपमा बन्द गर्न भनिएको छ । खेल कार्यक्रम दर्शकबिना आयोजित गरिनेछन् । आपतकालीन घोषणा २५ अप्रिलदेखि ११ मेसम्म लागू हुनेछ।

जापानको वार्षिक साताव्यापी लामो बिदा आगामी गोल्डेन वीक छुट्टी अप्रिलको अन्तिमदेखि मेको शुरुवातमा रहेको छ । यसबीचमा संक्रमणलाई रोक्नको लागि सरकारले आपतकाल लक्षित गराएको छ । जुन समयमा मानिसहरुको बाहिरि यात्रा र आवागमन उच्च हुने गर्दथ्यो । तत्कालको लागि आपतकाल दुईसाताको लागि घोषणा गरिएपनि अवस्थामा अपेक्षाकृत सुधार नआए थप गरिनसक्ने सरकारले बताएको छ।

जापानले लगाएको आपतकाल अन्य देशको जस्तो कडा प्रतिबन्ध वा पूर्ण लकडाउन अवस्थाको रहेको छैन्। सार्वजनिक आव्हान र अनुरोधमा आपतकाल जनता र व्यवसायीको सहयोगमा ठूलो हदसम्म निर्भर छ । तर, यसपटक अपनाइएका आपतकालिन उपाय जनवरी वा अघिल्लो पटक गरिएको घोषणा भन्दा धेरैहदसम्म कडा छन्।

अधिकारीहरूले काराओके प्रतिष्ठानका अपरेटरलाई साथै टोकियो स्काई ट्री र ओसाकामा युनिभर्सल स्टुडियो जापान जस्ता पर्यटन स्थलहरू बन्द गर्न भनेको छ। तोकिएको क्षेत्रहरूमा डिपार्टमेन्ट स्टोरहरूले केवल खाना र अन्य दैनिक आवश्यक चीजहरू मात्र बिक्री गर्नसक्नेछन्।

सार्वजनिक यातायात अपरेटरहरू जस्तै रेल र बस कम्पनीले सप्ताहन्त र छुट्टिमा कम सेवाहरूको साथसाथै साप्ताहिक बिदाको समयमा रातहरूमा छिटो अपरेसनहरू बन्द गराउन भनिएको छ।

अप्रिल महिनाको सुरुमा टोकियो, ओसाका र क्योतोका साथै ह्योगो र अन्य छ वटा क्षेत्रहरूमा अर्ध आपतकालिन अवस्था घोषणा गरिएको थियो तर कोरोना भाइरस संक्रमणका घटनाहरुलाई कम गर्न असमर्थ भएपछि नयाँ उपायहरु अपनाउँदै आपतकाल घोषणा गरिएको हो।