भारतमा एक हप्ताको अन्तरालमा कोरानाले २० नेपालीको ज्यान लियो

भारतमा एक हप्ताको अन्तरालमा कोरानाले २० नेपालीको ज्यान लियो सांकेतीक तस्वीर

काठमाडौं । भारतमा एक हप्ताको अन्तरालमा कोरोनाको संक्रमणबाट २० नेपालीले ज्यान गुमाएका छन् । कोरोना भाइरसको संक्रमण बढेसँगै यो साता भारतमा थप २० नेपालको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) का स्वास्थ्य समिति संयोजक डा. संजीव सापकोटाले प्रवास खबरलाई जानकारी दिए ।

भारतको नयाँ दिल्लीमा कार्यरत स्वास्थ्य समितिका सदस्य समेत रहेका अल इन्डिया इन्टिच्यूट अफ मेडिकल साइन्समा कार्यरत डा.सागर पौडेलका अनुसार भारतको नयाँ दिल्लीमा १० जना र भारतका अन्य क्षेत्रमा थप १० गरी कूल २० जना नेपालीको निधन भएको संयोजक सापकोटाले बताए ।

निधन हुनेमा अधिकांश ५० वर्ष भन्दा मुनिका रहेका छन् । योसँगै हालसम्म विश्वका विभिन्न २१ मुलुकमा संक्रमणका कारण ३ सय ७२ जना नेपालीको निधन भएको छ ।

संघको स्वास्थ्य समितिले प्रत्येक हप्ता विश्वभरमा रहेका नेपालीलाई कोभिडले पारेको प्रभावको बारेमा तथ्याङक संकलन गर्दै आएको छ।