नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य

नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य

काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपालले मलेसियासामु जीतका लागि २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाएर २१७ रन बनाएको छ।

विश्व कीर्तिमान बनाउने क्रममा रहेका प्रारम्भिक ब्याटस्म्यान कुशल भुर्तेल पाँचौँ ओभरको पहिलो बलमा नै मुहम्मद वफिकका बलमा क्याच आउट भए । उनले १२ बल खेल्दै दुई छक्काका मद्दतमा १६ रन बनाएका हुन् । यसअघिका तीन खेल (नेदरल्याण्डस, मलेसिया) मा लगातार अर्धशतक प्रहार गरी विश्व कीर्तिमान बनाउन सफल भएका भुर्तेल थप नयाँ कीर्तिमान बनाउनबाट भने चुकेका छन्।

नेपालको पारिलाई कप्तान ज्ञानेन्द्र मल्ल र प्रारम्भिक ब्याटस्म्यान आशिफ शेखले सम्हालेका हुन् । दुवैबीच ७३ रनको साझेदारी भएसँगै शेखले ४२ रनको योगदान दिएका हुन् । उनले ३३ बल खेल्दै तीन छक्का र तीन चौका हाने । यस्तै कप्तान मल्लले २५ बलमा एक छक्का र चार चौका हान्दै ४१ रनको योगदान दिएका हुन् ।

नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३३ रन बनाए । उनले १७ बलमा एक छक्का र पाँचा चौका हाने । यस्तै करण केसीले १३ बलमा ४५ रनको योगदान दिए । सो क्रममा केसीले सात छक्का प्रहार गरे । यस्तै कुशल मल्लले अविजित १९ रन बनाएका छन् ।

बलिङतर्फ मलेसियाका लागि फित्री साम, अनवर रहमान र सयद अजिजले दुईदुई तथा मुहम्मद वफिकले एक विकेट लिए । अहिले मलेसियाले जवाफी ब्याटिङ गरिरहेको छ । मलेसियाले केही बेरअघिसम्म सात ओभरमा दुई विकेट गुमाउँदै ५७ रन बनाएको छ । नेपालका लागि दुवै विकेट सोमपाल कामीले लिएका हुन् । मलेसियाका लागि आजको खेल औपचारिकता मात्र हो । सिरिजका पुछारमा रहेको मलेसिया प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपाल भने यसअघि नै फाइनलमा प्रवेश गरेको छ ।