ब्राजिलमा कोभिडबाट एकै दिन ३ हजार बढीको निधन

ब्राजिलमा कोभिडबाट एकै दिन ३ हजार बढीको निधन

रियो दी जेनेरियो । ब्राजिलमा पछिल्लो २४ घण्टामा कोभिड–१९ को सङ्क्रमणबाट तीन हजारभन्दा बढीको मृत्यु भएको छ । कोभिड–१९ को सङ्क्रमणबाट बुधबार मात्रै ३ हजार ४७२ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ८१ हजार ४७७ जना पुगेको छ । त्यसैगरी सोही अवधीमा थप ८० हजार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण शुरु भएदेखि हालसम्म १ करोड ४१ लाख २२ हजार जनामा सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको नयाँ प्रजातिका भाइरससँगै नयाँ नयाँ वेभहरु आइरहेका छन् । संक्रमितको संख्या बढेसँगै अस्पतालले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको छ ।

यहाँ सबैभन्दा बढी साओ पाओलो राज्यमा संक्रमण देखिएको छ । साओ पाओलोमा कोरोनाका कारण ९० हजार भन्दा बढी नागरिकको ज्यान गएको छ । त्यसैगरी सो राज्यमा करिब २८ लाख नागरिक सङ्क्रमित भएका छन् । यहाँका नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् । तर अत्यधिक रुपमा फैलिएको भाइरसको प्रकोपलाई नियन्त्रण गर्न खोप मात्र पनि प्रभावकारी नदेखिएको बताइएको छ ।