भारतमा कोरोनाको भयावह अवस्था : एकैदिन ३ लाख बढी संक्रमित, २ हजार बढीको मृत्यु

नयाँदिल्ली । भारतमा एकैदिन ३ लाखभन्दा बढी नयाँ कोरोना संक्रमित भेटिएको छ । पछिल्लो २४ घण्टामा ३ लाख १४ हजार ८३५ जनामा कोरोना संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बुधवार थपिएको कोरोना संक्रमितसहित भारतमा कोरोना संक्रमितको संख्या १ करोड ५९ लाख ३० हजार ९६५ जना पुगेको छ । एकैदिन यति धेरैे संख्यामा संक्रमित भेटिएको यो पहिलो पटक हो । एकैदिन यति ठूलो संख्यामा कोरोना संक्रमण भेटिनु विश्वमा नै पहिलो हो ।

साथै पछिल्लो २४ घण्टामा कोरोनाबाट २ हजार १०१ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ८४ हजार ६५७ जना पुगेको छ ।

संक्रमण भयावह बनेसँगै विभिन्न राज्यमा लकडाउन

मंगलबार भारतको महाराष्ट्रमा एकैदिन ६७ हजार ४६८ जनामा संक्रमण भेटिएपछि बुधबारदेखि मे १ सम्माका लागि पूर्ण रुपमा लकडाउन घोषणा गरेको छ ।

कोरोना संक्रमणको अवस्था उच्च भएसँगै भारतको राजधानी नयाँदिल्लीमा पनि १९ अप्रिलको राति ९ बजेदेखि २६ अप्रिलसम्म लकडाउन जारि गरिएको छ । यससँगै राजस्थानमा गत आइतबार एकैदिन १० हजारमा कोरोना संक्रमण पुष्टि भएपछि तत्कालै लकडाउन घोषणा गरेको थियो । राजस्थानम भने १५ दिनसम्म लकडाउन रहनेछ ।