युरोप पठाइदिने भन्दै १९ लाख ठगी

युरोप पठाइदिने भन्दै १९ लाख ठगी

काठमाडौं । आकर्षक रोजगारीको लागि युरोप पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ग्रान्डे ग्लोब होलिडेज प्रालिका संचालक ३६ वर्षीय भरत प्रसाद राईलाई बुधवार प्रहरीले पक्राउ गरेको हो । उनलाई युरोप पठाउने बाहनामा १९ लाख ठगी गरेको आरोप लागेको छ।

चितवनको राप्ती नगरपालीका वार्ड–३ स्थायी घर भएका राई काठमाडौँको नयाँ बजार बस्दै आएका थिए ।

राईले रोजगारीको लागि भिजिट भिषामा युरोपका पोर्चुगल,लाटभिया, युक्रेन लगायतका देशमा पठाइदिने भनेर ठगी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राईले तेह्रथुमका सागर लिम्बुसहित ६ जनाबाट १९ लाख ४७ हजार रुपैयाँ ठगी गरेका छन् । उनले भिजिट भिसामा जान प्रतिव्यक्ती १० लाख लाग्ने भनेर ठगी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

राईलाई महानगरीय प्रहरी महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।