‘लाप्राक नमूना वस्ती’ निर्माणमा एनआरएनएले खर्चियो झण्डै ५८ करोड

‘लाप्राक नमूना वस्ती’ निर्माणमा एनआरएनएले खर्चियो झण्डै ५८ करोड

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘लाप्राक नमूना वस्ती’को निर्माण कार्य पूरा भएको जनाएको छ । निर्माण कार्य पूरा भएपछि संघले बिहीवार सेवाग्राहीलाई वस्ती हस्तान्तरण गर्न लागेको अध्यक्ष कुमार पन्तले जानकारी दिए।

वस्ती हस्तान्तरणका लागि धार्चे गाउँपालिकाको ४ नम्बर वार्ड र नेपाल सरकारबाट अनुमति प्राप्त भइसकेको पन्तले बताए । ‘बैशाख ९ गते बिहीबार जग्गा धनी पूर्जासहित लाभग्राहीलाई हस्तान्तरण गर्दैछौँ,’ पन्तले भने । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीको उपस्थितिमा वस्ती हस्तान्तरण गरिने पन्तले जानकारी दिए ।

विसं २०७२ वैशाख १२ गते गएको भूकम्पमा परी गाेरखाकाे लाप्राकमा कूल ५७३ घर भत्किएका थिए। भत्किएका घर निर्माणको जिम्मा एनआरएनएले लिएको थियो। जसका लागिे सरकारले १८.३२ हेक्टर जमिन उपलब्ध गराएको थियो।

महाभूकम्पपछि एनआरएनएले थालेको एउटा महत्वाकांक्षी परियोजना हो, लाप्राक नमुना वस्ती निर्माण । मेघा प्रोजेक्ट अन्तर्गत राष्ट्रिय पुननिर्माण प्राधिकरण, शहरी विकास मन्त्रालय र संघबीच त्रिपक्षिय सम्झौता भएको थियो ।

करिव ६ वर्षको अवधिमा वस्ती निर्माण कार्य पूरा भएको हो । भौगोलिक विकटता र मौसमको प्रतिकूलताका कारण वस्ती निर्माणमा ढिलाइ भएको अध्यक्ष पन्तले बताए । पन्तले धैर्यताको लागि लाप्राकवासीलाई धन्यावाद समेत दिए ।

अध्यक्ष पन्तका अनुसार ५७ करोड ६६ लाखको लागतमा वस्ती निर्माण भएको हो।