विदेशमा सीप सिक्नुस्, पैसा कमाउनुस् तर पीआर लिएर त्यतै नबस्नुस् : प्रधानमन्त्री

‘नेपालमा लगानीका लागि अनुकूल वातावरण बनेको छ, ढुक्क भएर लगानी गर्नुहोस्’

विदेशमा सीप सिक्नुस्, पैसा कमाउनुस् तर पीआर लिएर त्यतै नबस्नुस् : प्रधानमन्त्री

लण्डन। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रवासी नेपालीलाई नेपालै फर्किएर आउन आग्रह गरेका छन् । प्रवासी नेपाली एकता मञ्चले वुधबार आयोजना गरेको नयाँ वर्ष २०७८ सालको शुभकामना आदानप्रदान कार्यक्रममा जुममार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन्।

नयाँ वर्षको शुभकामना दिदैँ प्रधानमन्त्री ओलीले प्रवासी नेपालीलाई भने ‘सीप सिक्नुस, पैसा कमाउनुस तर पीआर लिएर त्यतै नबस्नुहोला, देशले हजुरलाई खोजेको छ।’

प्रधानमन्त्री ओलीले ढुक्क भएर नेपालमा लगानी गर्न प्रवासी नेपालीलाई आग्रह समेत गरेका छन् । नेपालमा लगानीका लागि अनुकूल वातावरण बनेको बताउँदै उनले लगानीको सुरक्षाका लागि सरकारले सहयोग गर्ने बताए।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले जनताको स्वास्थ्यमा सरकार गम्भीर रहेको बताउँदै नेपालले कोरोना भाइरसविरुद्धको खोप उत्पादन नगरेपनि जनतालाई निःशुल्क खोप लगाएको बताए ।  उनले कोरोना महामारीले नेपालको अर्थतन्त्रमा खासै प्रभाव नपारेको पनि बताए।

२०७७ सालमा विकास निर्माणका काममा आशालाग्दो प्रगती भएको बताउँदै यही बैशाख ११ गते धरहराको पनि उद्घाटन गरिने जानकारी प्रधानमन्त्री ओलीले दिए।

प्रधानमन्त्री ओलीले भने, ‘नेपाल गरिब भएपनि हात फिजाएर माग्नु पर्ने अवस्था छैन ।’ विकासलाई जनताको प्रतिव्यक्ति आय भन्दा पनि उनको जीवनमा आएको खुशीसँग दाँज्नुपर्ने धारणा प्रधानमन्त्री ओलीको थियो । ओलीले प्रवासमा बसेर पनि नेपालप्रतिको सद्भाव देखाएकोमा प्रवासी नेपालीहरुलाई धन्यवाद दिए।

कोरोनाकाे अवधिमा नेपालको निर्यात सकरात्मक बिन्दुमा गएको जानकारी प्रधानमन्त्रीले गराएका प्रवासी नेपाली एकता मञ्च अन्तराष्ट्रिय कमिटीका सचिव रमेश पाण्डेले बताए ।

प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय समन्वय कमिटीका सचिव एवं अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डेले सञ्चालन गरेको कार्यक्रम अध्यक्ष भक्त गुरुङको सभापतित्वमा भएको थियो । प्रवासी नेपाली एकता मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापाले उपस्थित अतिथिहरुलाई स्वागत गरेका थिए ।