ओलम्पिक रद्द गर्न जापानी सत्तारुढ दलको आग्रह

ओलम्पिक रद्द गर्न जापानी सत्तारुढ दलको आग्रह

टोकियो । जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का एक नेताले टोकियो ओलम्पिक खेल रद्ध गर्नुपर्ने बताएका छन् । एलडीपीका महासचिव तोशिहिरो निकाईले कोभिडको सङ्क्रमण फैलिने क्रम बढेकाले टोकियो ओलम्पिक रद्द गर्नुपर्ने बताएका हुन् । ।

टोकियो ओलम्पिक खेल हुन बुधबार १०० दिन बाँकी रहँदा निकाईको यस्तो भनाई सार्वजनिक भएको हो । एलडीपीका एक सदस्यले भने खेल स्थलमा दर्शकलाई प्रतिबन्ध लगाउनु पर्ने बताएका छन् ।

जापानको टीबीएस टिभीलाई दिएको अन्तर्वार्तामा निकाईले खेल आयोजनामा समस्या देखिए यसलाई रद्द गर्नुको विकल्प नरहेको बताए । ओलम्पिककै कारण कोभिड सङ्क्रमण फैलिने अवस्था देखिए ओलम्पिक आयोजना गर्नुको केही अर्थ नरहने उनले बताए ।

उनले अगाडि भने, ‘ओलम्पिक खेल सफलतापूर्वक सम्पन्न हुनु जरुरी छ । यो जापानको लागि ठूलो अवसर पनि हो । म पनि यो सफल होस् भन्ने चाहन्छु । हामीले धेरै विषयलाई सुल्झाउनु र त्यसको तयारी गर्न जरुरी छ, र हरेक खेलाडी तथा पदाधिकारीको विशेष हेरबिचार गर्नुपर्ने चुनौती छ ।’

टोकियो ओलम्पिक आयोजकको भनाईमा आगामी ओलम्पिक खेल सफलतापूर्वक आयोजना गर्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र इन्टरनेसनल पाराओलम्पिक कमिटी पूर्ण रुपमा प्रतिबद्ध रहेका छन् । उनीहरुले प्रधानमन्त्री योशिहिडे सुगा ओलम्पिक खेल आयोजना गर्न प्रतिबद्ध रहेको वताएका छन् ।

जापानमा पछिल्लो पटक कोभिड सङ्क्रमण तिब्र गतिमा फैलिएको छ । बुधबार मात्र जापानको दोस्रो ठूलो शहर ओशाकामा १ हजार १०० सयभन्दा बढी नयाँ संक्रमित भेटिएका थिए । यो गत जनवरी यताकै सबैभन्दा ठूलो संख्या हो ।

जापानमा कोभिडको सङ्क्रमणबाट हालसम्म ९ हजार ५०० भन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । जापानमा खोप अभियानको नेतृत्व गरिरहेका मन्त्री तारो कोनोले ओलम्पिक हुने अवस्था सिर्जना भएपनि खेल मैदानमा कुनै पनि दर्शक नहुने स्पष्ट पारे । उनले ओलम्पिक खेल खाली रङ्गशालामा खेलाइने बताए ।

गत वर्ष कोभिड सङ्क्रमण तिब्र भएको भन्दै ओलम्पिक खेल तालिका एक वर्ष सारिएको थियो । यस वर्ष जुलाई २३ मा टोकियो ओलम्पिक शुरु हुनेछ । साथै पाराओलम्पिक अगष्ट २४ बाट हुनेछ । दुबै ओलम्पिकका खेल हेर्न जापान आउन चाहने विदेशी व्यक्तिलाई जापान आउन प्रतिबन्ध लगाइएकोछ । जापानी नागरिकले पनि खेल मैदानमा प्रवेश पाउने छैनन् ।

आयोजकहरुले टिकट बिक्रीबाट झण्डै ८० करोड अमेरिकी डलर आर्जन गर्ने अनुमान गरेका थिए । यो कूल आयको झण्डै तेस्रो ठूलो रकम हो । ओलम्पिक आयोजनाको कूल लागत करिब १५.४ अर्ब अमेरिकी डलर रहेको छ ।