इपिएसमा नक्कली परीक्षार्थी रोक्न दक्षिण कोरियाको कडा नीति

इपिएसमा नक्कली परीक्षार्थी रोक्न दक्षिण कोरियाको कडा नीति

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) मा नक्कली परीक्षार्थी भेटिने क्रम बढेपछि दक्षिण कोरियाले त्यस्ता गतिविधिलाई रोक्न परीक्षा प्रणालीलाई कडा बनाउने भएको छ। दक्षिण कोरियाको मानव संशोधन विभाग (एचआरडी) ले अबदेखि भाषा परिक्षामा थम्ब प्रिन्ट (औँठा छाप) र अनुहार पहिचान (आइ टेष्ट) अनिवार्य गराउने भएको छ । एचआरडीले कम्प्युटरमा आधारित परीक्षा (सिबिटी) प्रणालीसँगै यो व्यवस्था लागू गर्न लागेको हो।

काठमाडौंस्थित इपिएस कोरिया शाखा (इपिएस नेपाल) का अनुसार एचआरडीले लागू गर्न लागेको यो नियम अनुसार परीक्षा हल छिर्ने ढोकामा नै परीक्षार्थीको थम्ब प्रिन्ट लिइनेछ । त्यसलगत्तै हलभित्र परीक्षा दिने ठाउँमा पुन : थम्ब लिइनेछ। यसबाहेक एचआरडीका अधिकारीले अनुहारको पहिचान समेत लिनेछन्। यदि थम्ब प्रिन्ट र अनुहार पहिचान नमिलेमा भने उक्त परीक्षार्थीले परीक्षा दिन पाउने छैन्।

परीक्षा पास भएका व्यक्तिले मात्रै सीप परिक्षण गर्न पाउने छन् । सीप परीक्षणमा पनि थम्ब प्रिन्ट र अनुहार पहिचान अनिवार्य गरिएको छ । इपिएस नेपालका अनुसार एचआरडीले यस सफ्टवेयर बनाउँदै गरेको हुँदा यसपटको परीक्षाको मिति अझैसम्म तय भएको छैन् ।

सिबिटी प्रणालीसँगै थम्ब प्रिन्ट र अनुहार पहिचान किन ?

कागजमा आधारित परीक्षा (पिबिटी) प्रणालीमा नाम एक व्यक्तिको र परीक्षा अर्को व्यक्तिले दिने गरेको पाइएको थियो । कोरोना महामारीकै समयमा २६० बढी नेपाली अन्य व्यक्तिलाई परीक्षा दिन लगाइ आफ्नो देशमा पुगेको कोरियाले पत्ता लगाएको थियो । उसले ती नेपालीलाई पक्राउ गरेर नेपाल डिपोर्ट गरिदिएको थियो।

परीक्षा पास गरिदिए वापत एक जना व्यक्तिले ७ लाखसम्म तिर्ने गरेको सूचना इपिएस नेपालमा पुगेको थियो । शाखाका एक अधिकारीले प्रवास खबरसँग भने, ‘यदि कोरोना नभएको भए ती नेपाली कोरियाको जेलमा हुन्थे ।’ एक दुई जनाले गरेको बदमासीका कारण इपिएस नेपाललाई समेत एचआरडीले विश्वास नगर्ने अवस्था सिर्जना भएको उनी बताउँछन् । ती अधिकारीले अगाडी भने, ‘यस्तो अवस्थामा थम्ब प्रिन्ट र अनुहार पहिचान अनिवार्य लागू गर्नु उपयुक्त हो ।’

एचआरडीले लागू गरेको यो नियम प्रक्रिया सकाएर कोरिया उड्ने बेला त्रिभुवन विमानस्थलको श्रम कक्षामा पनि लागू हुनेछ । परीक्षा दिने व्यक्ति र श्रम कक्षामा लिइने थम्ब प्रिन्ट नमिलेमा श्रम कक्षाबाटै फकाईनेछ।

२०२१ का लागि नेपाललाई कति कोटा ?

२०२१ का लागि नेपाललाई यति कोटा भनेर आधिकारीक जानकारी इपिएस नेपाल समक्ष अहिलेसम्म पुगेको छैन् । ‘एचआरडीले नेपालाई ५ हजार ४ सय कोटा छुट्टाएको भन्ने अनौपचारिक सूचना सुनिएको छ । तर, यो औपचारिक भने होइन,’ शाखाका ती अधिकारीले भने ।

उनका अनुसार यो संख्या कोटा नभइ परीक्षा उत्तीर्ण गर्ने संख्या पनि हुन सक्नेछ । यो संख्यामा कति जनाले कोरिया जान पाउँछन् त्यो आधिकारिक जानकारी प्राप्त भएपछि मात्रै थाह हुने उनी बताउँछन् । हालसम्म २०२१ के लािग परीक्षा कहिले लिने भन्नेबारे एचआरडीले कुनै जानकारी दिएको छैन्।

कहिले सूचारु हुन्छ कोरिया रोजगारी ?

२०१८ को भाषा परीक्षामा उत्तीर्ण साढे ६ हजारसहित १० हजारभन्दा बढी नेपाली कामदार कोरिया जान पाएका छैनन् । उनीहरु कोरिया रोजगारी खुल्ने आशामा बसेका छन्। तर, नेपालमा कोरोना संक्रमणको जोखिम उच्च रहेको कारण देखाउँदै कोरियाले नेपाली श्रमिक लैजान रोकेको छ ।

अहिले उसले कोरोनाका कारण ४ वर्ष १० महिनाको समय सकेर पनि कोरियामै बसेका कामदारलाई थप १३ महिना काम गर्न पाउने व्यवस्था गरेको छ । हाल कोरियाले कामदारलाई बिदा समेत दिएको छैन् । विदेशी कामदारले यदि विदा लिने हो भने ४ वर्ष १० महिनाको करार नै रद्द गरेर देश फर्कनुपर्ने प्रावधान रहेको छ । त्यसैले पनि कोरियाले नयाँ कामदार लैजान अझै केहि ढिलाई हुन सक्ने इपिएस नेपालको अनुमान छ ।