अमेरिकामा १९ अप्रिलबाट सम्पूर्ण वयस्क नागरिकलाई कोभिड –१९ खोप

अमेरिकामा १९ अप्रिलबाट सम्पूर्ण वयस्क नागरिकलाई कोभिड –१९ खोप

वाशिंगटन डीसी । अमेरिकी वयस्क नागरिकले १९ अप्रिलबाट कोभिड –१९ को खोप लगाउन पाउने भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले सम्पूर्ण वयस्क नागरिकलाई १९ अप्रिलबाट खोप प्रदान गर्ने घोषणा गरेका हुन् ।

अमेरिकाको अलेक्जेन्डेरिया र भर्जिनियाको खोप निर्माण स्थानको भ्रमण गरेपछि उने उक्त घोषणा गरेको समाचारमा जनाइएको छ ।

यसअघि उनले आगामी मे बाट सबै नागरिकलाई खोप दिइने बारे घोषणा गरेका थिए । तर अमेरिकी नागरिकले जति सक्दो चाँडो खोप दिनुपर्ने माग
गरेपछि उनले उक्त घोषणा गरेको समाचारमा जनाइएको छ ।

उनका अनुसार अमेरिकामा गएको ७५ दिनमा १५ करोड डोज बराबरको खोप लगाइसकेको  छ। यहाँ खोप लगाउन शुरु गरिएको १०० दिनभित्र २० करोड खोप दिइसक्नुपर्ने लक्ष्य लिइएको थियो ।

विज्ञका अनुसार मे महिनासम्ममा अझै महामारी बढ्ने भएकोले सम्पूर्ण नागरिकलाई सतर्कता अपनाउन बाइडेनले आग्रह गरेका छन् ।

उनले भने, ‘हामीले आगामी दिनमा अझै अप्ठेरो परिस्थितिको सामना गर्नुपर्ने अवस्था आउन सक्छ, त्यसैले थप सजग बनौँ, मास्क लगाउँ र जनस्वास्थ्यका मापदण्डहरु राम्रोसँग पालना गरौँ ।’

अमेरिका विश्वमै सबैभन्दा बढी कोरोना प्रभावित देशमा पर्दछ । यहाँ अहिलेसम्म ३ करोड १५ लाख भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । साथै कोभिडका कारण ५ लाख ७० हजार भन्दा बढी मानिसले ज्यान गुमाएका छन् ।