संकटमा लेबनान रोजगारी

झोलाभरी पैसा छ तर, पठाउन पाउँदैनन्

संकटमा लेबनान रोजगारी बेरुत लेबनान तस्वीर : एजेन्सी

काठमाडौं । केही वर्ष अगाडीसम्म नेपाली युवाका लागि आकर्षक गन्तव्य मानिने लेबनानको अवस्था अब पहिले जस्तो रहेन।

रोजगारीको लागि त्यहाँ पुगेका अधिकांश नेपाली अहिले स्वदेश फर्किसकेका छन् । केही भने त्यहीँबाटै अन्य मुलुकमा पुगेका छन् । बाँकी रहेका पनि अलमलमा छन् । उनीहरु अब फर्किने कि रोजगारीलाई निरन्तरता दिने भनेर ‘पर्ख र हेर’ को रणनीतिमा छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) लेबनानका अध्यक्ष अशोक थापा लेबनानबाट ८० प्रतिशतभन्दा बढी नेपाली स्वदेश फर्किसकेको बताउँछन् । लेबनानमा बढ्दै गएको आर्थिक मन्दीका कारण उनीहरु स्वदेश फर्किनु परेको उनको भनाइ छ । ‘लेबनानको अवस्था पहिला जस्तो छैन । अधिकांश फर्किसके । अब थोरै संख्या मात्रै बाँकी छ,’ थापाले बेरुतबाट प्रवास खबरसँगको टेलिफोन सम्पर्कमा भने।

लेबनानमा रोजगारीको लागि जान सरकारले नै अनुमति दिएको छ । तर, लेबनानमा कति नेपाली कार्यरत छन् भन्ने आधिकारिक तथ्यांक छैन् । केहीवर्ष अघिसम्म लेबनानमा १५ हजारको हाराहारीमा नेपाली कार्यरत रहेको अनुमान थियो । अहिले यो संख्या ह्वात्तै घटेको छ । नयाँ रोजगारी सिर्जना हुने त कुरै छैन् गर्दै आएकाको पनि जागीर गएको छ ।

एनआरएनए अध्यक्ष थापाका अनुसार पछिल्लो समय लेबनानमा चुलिँदै गएको आर्थिक मन्दिका कारण धेरै जसो नेपाली रोजगारी गुमाएर कोभिड महामारी अघि नै नेपाल फर्किसकेका थिए । केही भने कम्पनीहरु ठप्प भएपछि कोभिडक महामारीकै बीचमा फर्किएका हुन् । लेबनानको आर्थिक क्षेत्र क्रमश ओरालो लाग्दै गएपछि त्यहाँको रोजगारी पूर्ण रुपमा प्रभावित भएको थापा बताउँछन् ।

उनका अनुसार लेबनानमा अहिले बढीमा १७ सयदेखि १८ सयको हाराहारीमा मात्रै नेपाली कार्यरत छन् । ‘आधिकारिक तथ्याङक त छैन । कोभिड महामारीभन्दा अघि नै उल्लेख्य संख्यामा नेपालीहरुले लेबनान छोडिसकेको हाम्रो अनुमान छ,’ थापा भन्छन,‘बाँकी रहेकाहरुमध्ये अधिकांश घरेलु महिला कामदार हुन् । त्यसबाहेक केही पुरुषहरु होटल, रेष्टुरेन्ट तथा कम्पनीहरुमा कार्यरत छन् ।’

अन्य खाडी मुलुकको तुलनामा आम्दानीको दृष्टिले लेबनानलाई राम्रो गन्तब्य मानिन्छ । डलरमा आम्दानी हुने भएकोले पनि नेपालबाट घरायसी काममा जाने माहिलाहरुको संख्या धेरै थियो । घरेलु कामदारले मासिक ३ सय देखि ५ सय डलरसम्म पारिश्रमिक पाउँथे । कम्पनीमा कार्यरत कामदारले भने थोरैमा ५ सय देखि १२ सय डलरसम्म कमाइ गर्ने गरेको एनआरएनए लेबनानका पूर्व अध्यक्ष डिल्ली पौडेल बताउँछन् । आर्थिक मन्दीसँगै डलर सटहीमा आएको समस्याका कारण लेबनानबाट बाहिरिने विदेशीको संख्यामा वृद्धि भएको उनको भनाइ छ ।

अहिले लेबनानमा बाँकी रहेका नेपालीको प्रमुख समस्या कमाएको पैसा घरमा पठाउन नपाउनु हो । अन्य मुलुकको मुद्रालाई सोझै नेपाल पठाउन सकिन्छ । तर, लेबनानी मुद्रालाई डलरमा साटेर मात्रै नेपाल पठाउनु पर्दछ । कमाएको पैसा डलरमा सटही नभएपछि अहिले उनीहरु झोला भरि पैसा राखेर बसेका छन्।

‘अहिले यहाँ जति पनि नेपाली छन्, राम्रै कमाइ गरेर बसेका छन् । तर ,लेबनानी मुद्राको मुल्य घटेकोले डलरमा साट्न सकिरहेका छैनन्,’ अध्यक्ष थापाले भने, ‘२/३ करोड लेबनानी मुद्रा साथमै छ । तर, डलरमा साट्दा नेपाली २/३ लाख पनि नआउने भएपछि केहि समय कुर्दा सहज हुन्छ कि भन्दै बस्न बाध्य छन् ।’

अहिले एनआरएनए एनसीसी लेबनान पनि लगभग निस्क्रिय अवस्थामा छ । कार्यसमितिका अधिकाशं पदाधिकारी स्वदेश फर्किएपछि संघले कुनै गतिविधि गर्न सकेको छैन । ‘ अधिकाशं पदाधिकारीहरु फर्किसक्नु भएको छ । आधिकारिक रुपमा केही काम पनि गर्न सकिएको छैन् । तैपनि हामीले एकअर्कालाई सकेको सहयोग गर्दै आएका छौँ,’थापाले भने ।

आर्थिक मन्दी चुलिएसँगै लेबनानी मुद्राको मूल्यमा भारी गिरावट आएको छ । हाल १३ हजार लेबनानी मुद्रा बराबर १ डलर मूल्य रहेको छ । कुनै समय १६ हजारसम्म पुग्ने गरेको पूर्व अध्यक्ष पौडेल बताउँछन् ।

बेरुतको एउटा कम्पनीमा काम गर्दै आइरहेका एनआरएनएका वर्तमान अध्यक्ष थापा २००९ मा लेबनान पुगेका थिए । २०१३ मा त्यहाँ नेपालीको संख्या करिव १६ हजार पुगेकाे थियो । तर,८ वर्षको अवधिमा यो संख्या घटेर १७/१८ सयमा आइपुगेको थापा बताउँछन् । राजनीतिक अस्थिरताले देशमा निम्तिएको आर्थिक मन्दीका कारण अहिले लेबनानी नगरिकहरुले समेत देश छोडेर अन्यत्र जान थालेका छन् ।

लेबनानमा नेपाली दूतावास समेत छैन । इजिप्टको कायरोमा रहेको नेपाली दूतावासले नै लेबनान मामिला हेर्ने जिम्मेवारी पाएको छ । भर्खरै मात्रै आफ्नो कार्यकाल सकाएर स्वदेश फर्किएका इजिप्टका लागि पूर्व नेपाली राजदूत झविन्द्र अर्याल लेबनानको श्रम बजार पूर्ण रुपमा प्रभावित भएको बताउँछन्।

‘लेबनानमा आर्थिक मन्दीको मुख्य कारण अस्थिर सरकार हुनु हो । लेबनान सरकारमा १८/१९ पार्टीहरु संलग्न रहेको देखिन्छ,’ पूर्व राजदूत अर्यालले प्रवास खबरसँग भने, ‘राजनीतिक, धार्मिक, क्षेत्रीय पावर रहेका मान्छे सरकारमा रहेका छन् । जसले त्यहाँ चरम भ्रष्टाचार भएको छ ।’

लेबनानमा लामो समयसम्म मूल्य वृद्धिलाई लिएर दङ्गा, फँसाद चर्किएको उनी बताउँछन् । यी सबै कारणले गर्दा अहिले लेबनान आर्थिक संकटले ग्रस्त बन्न पुगेको हो । ‘त्यहाँ काम गरिबसेका कामदारले पाउने तलबलाई डलरमा साट्दा आधा पनि नआउने अवस्था आयो,’ उनले भने, ‘महंगी धेरै हुन थालेपछि राम्रो कमाइ गरेर बसेका कामदार सबै फर्किन थालेका हुन् ।’

त्यसबाहेक पछिल्लो समय बेरुतमा भएको विस्फोटले पनि त्यहाँ रहेका नेपालीको रोजगारी थप प्रभावित भएको उनको भनाइ छ । लेबनानमा नेपालीको संख्या अझै घट्दै जाने अर्यालको अनुमान छ।

यता वैदेशिक रोजगार विभागको तथ्याङ हेर्दा पनि लेबनान रोजगारी जिर्ण अवस्थामा देख्न सकिन्छ । विगतको तुलनामा लेबनान जाने कामदारको संख्यामा उल्लेख्य कमी आएको वैदेशिक रोजगार विभागका निर्देशक महेन्द्रनाथ भट्टराई बताउँछन् । तर, लेबनान रोजगारी प्रभावित हुनुको कारण के हो त्यसको मेसो भने विभागले अहिलेसम्म पाएको छैन् । ‘के कारण लेबनान जानेको संख्यामा कमी आयो भन्नेमा मलाई खासै जानकारी छैन्,’ निर्देशक भट्टराईले प्रवास खबरसँग भने । उनले नेपालबाट लेबनान रोजगारीमा जान कुनै खाले समस्या नभएको समेत बताए।

आर्थिक वर्ष २०७६, ७७ को तथ्याङकअनुसार लेबनान रोजगारीमा जान भन्दै ६८ जनाले श्रम स्वीकृति लिएको देखिन्छ । जसमध्ये ५ जनाले मात्रै नयाँ श्रम स्वीकृति लिएका हुन । बाँकी ६३ जनामध्ये ३६ महिला र २७ जना पुरुष कामदारले पुन : श्रम स्वीकृति लिएको तथ्याङमा उल्लेख छ । चालु आर्थिक वर्षको फागुन महिनामा भने लेबनान रोजगारीको लागि २ जना महिलाले मात्रै पुन: श्रम स्वीकृति लिएको विभागको तथ्याङकले देखाउँछ।