देशभर वायु प्रदुषण बढ्यो,अति आवश्यक काममा बाहेक बाहिर ननिस्कन विज्ञको सुझाव

देशभर वायु प्रदुषण बढ्यो,अति आवश्यक काममा बाहेक बाहिर ननिस्कन विज्ञको सुझाव

काठमाडौं । काठमाडौंसहित देशभर वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् ।

वायु प्रदूषणले स्वासप्रस्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनैपर्ने भए मास्कको प्रयोग गर्न विज्ञले सुझाएका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले वन जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषण भएकोले अत्यावश्यक काम बाहेक बाहिर ननिस्न र निस्कन परे मास्क प्रयोग गर्न अनुरोध गरे । उनका अनुसार वायु प्रदूषणले फोक्सोको क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने गर्दछ ।

वायु प्रदूषणका कारणले आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्ने जस्ता समस्या आउने गर्दछ । नेपालमा वर्षेनी वायु प्रदूषणका कारण उत्पन्न हुने रोगले ३० देखि ३५ हजार मानिसको मृत्यु हुने गरेको छ । विश्वमा ७० लाख मानिसको मृत्यु हुने गरेको छ ।

डा.धिमालले केही वर्षयता घरभित्रको वायु प्रदूषण कम र घरबाहिरको वायु प्रदूषण बढी हुने गरेको बताए । उनले अत्यावश्यक नभइ सवारीसाधान नचलाउन र सवारीसाधन वा पेशा व्यवसायका कारण हुनसक्ने वायुप्रदूषणका कारणलाई कम गर्न आग्रह गरे ।
बालबालिका, गर्भवती महिला, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्नुपर्दछ । यो समय घरबाहिरको खुला स्थानमा बस्न, खेल्न र मर्निङवाकमा जाने जस्ता कार्यलाई रोक्न सुझाए ।
गर्मी बढेसँगै डढेलोका कारण आज बिहानैदेखि उपत्यकासहित देशभरिको वायु प्रदूषण बढेको छ ।

यसअघि उपत्यकामा यही चैतको १३ गतेदेखि प्रदूषण भएको थियो । प्रदूषणका कारण सरकारले चैत १७ गतेदेखि २० गतेसम्म विद्यालय बन्द गरेको थियो ।