जागेर देखेको सोनाम सपना

जागेर देखेको सोनाम सपना

कतै जवाफ नपाए सोनाम लामालाई सोध्नु,आँटे के हुँदैन ! आठ महिनाभित्र मुक्तिनाथ आसपासमा केही हलचल हुँदैछ । कुरा पहिलो हलचलको । मुक्तिनाथ क्षेत्रमा बुद्धको प्रतिमा निर्माण कार्य जारी छ । यसमा खास के छ भने यो मूर्ति विश्वकै अग्लो हुनेछ,अर्थात ३ हजार ७ सय फिट । खुरुखुरु काम हुँदै गयो भने अबको आठ महिनामा मुक्तिनाथ क्षेत्रमा विश्वकै अग्लो बुद्ध मूर्तिसहितको बुद्धपार्क सञ्चालनमा आउनेछ । यसलाई सोनामले नाम दिएका छन्,‘लुम्बिनी टु मुक्तिनाथ ।’

बौद्धमार्गी सोनामको बुद्ध प्रेम बुझ्न सकिन्छ । सम्भवत यही कारण हुन सक्छ, छोरा, छोरी र श्रीमतीसँग आर्थिक सहयोग र आफूसँग भएको नगद जम्मा गरेपछि मुक्तिनाथ क्षेत्रमा यो हलचल सम्भव भयो । पाँच करोड रुपैयाँ लगानी गरिसकेका छन् । सायद थप लगानी आवश्यक पर्ला । यो अभियानलाई उनले धार्मिकमात्र होइन पर्यटनसँग पनि जोड्न खोजेका छन्।

मुक्तिनाथ आफैमा धार्मिक क्षेत्र त हुँदै हो, पर्यटकिय दृष्टिले पनि उम्दा । यसैले होला, उनी यो क्षेत्रमा लो–मुस्ताङ नाम दिएर २८ कोठे तारे होटल पनि निर्माण गर्दैछन् । यो होटल पनि उस्तै परे सात/आठ महिनाभित्र सञ्चालनमा आउनेछ ।

यी त भए, साकार हुँदै गएका सोनामका सपना । मुक्तिनाथ क्षेत्रमै आजभन्दा ६ दशक अघि जन्मिएका उनलाई घरीघरी जन्मथलोले बोलाइरहन्छ। यसैले उनी फुर्सद हुनासाथ अमेरिकाबाट जन्मथलोको माटोको सुगन्ध लिन आइरहन्छन्।

पढाइ हापेर व्यापारतिर

मुक्तिनाथको आडैमा छ, पुराङ गाउँ। गुरुङ (लामा) हरुको वस्ती हो यो । स्थानीय व्यापारबाटै बाँचेका छन् । सोनामलाई उनका व्यापारी बुवा दोर्जे गुरुङले आफूजस्तै व्यापारी बनाउने सपना साँचे । सोनाम व्यापारी भए । तर, बाबु दोर्जे जस्तो गाउँको होइन,अमेरिकामै जमेका व्यापारी । तीनै सोनामको अहिलेको अर्को परिचय हो, उपाध्यक्ष, गैरआवासीय नेपाली संघ (एनआरएनए)।

एक पटक फेरी पुराङ गाउँ फर्काैँ । राजा महेन्द्रले एउटा गतिलो काम गरेछन, २०१८ मा । स्कुलविहिन मुक्तिनाथमा पहिलोपटक स्कुल संचालनमा आयो । पहिलो पटक स्कुल जाँदा ८ वर्षका थिए, सोनाम । ३ दाजुभाईमध्ये कान्छा छोरा उनी त्यसपछि परिवारको साथ लागेर मुक्तिनाथबाट पोखरा झरे । ५ कक्षासम्मको पढाइ पूरा गरे।

परिवार व्यवसायमा भएकोले पढाइभन्दा व्यवसायमा लाग्न जोड गरेपछि उनलाई पढाइ अघि बढाउन मुश्किल पर्यो । पारिवारिक व्यवसायतिरै उनको आवद्वता शुरु भयो। बुवा व्यापारी थिए, गाउँमा राम्रो छाप थियो। उनमा पनि बुवाको रङ सर्न थाल्यो । भारतको पञ्जाबमा ऊन किन्ने अनि आसामदेखि तिब्बतसम्म पठाउने काम सोनामलाई लगाउन थालियो । गाउँको व्यापारमा भन्दा उनले यो व्यापारमा पो बढी पैसा कमाउन थाले । भारतबाट गाउँ फर्किदा पोखराबाट वर्षैभरका लागि पुग्ने दाल, चामल, नुन, तेल लिएर सोनाम पुग्थे,पुराङ ।

यसपछि सोनामले काठमाडौं, तातोपानी नाकाबाट चिनियाँ सामान पनि गाउँ पुर्याउन थाले । काठमाडौंबाट तिब्बतको बाटो हुँदै मुस्ताङ पुग्न झण्डै आठ महिना लाग्ने । काठमाडौं आउजाउ बढ्यो । अब उनको व्यापारको केन्द्र बन्यो, काठमाडौं।

तर, खै किन–किन सोनामको मन स्वदेशमा अड्नै सकेन । व्यवसायका लागि विदेश जानुपर्छ भन्ने सोच उनमा पलाउन थाल्यो । सन् १९७८ मा काठमाडौं आए । पासपोर्ट बनाउने प्रक्रिया थाले । एक वर्षमा पासपोर्ट पनि बन्यो । उनी पहिलो मुस्ताङ्गी हुन, जसले पासपोर्ट बनाए । किनकी त्यतिबेला सर्वसाधारणले पासपोर्ट पाउन सहज थिएन । जिल्लाको सिफारिस अनि परराष्ट्र मन्त्रालयको स्वीकृति आवश्यक हुन्थ्यो । यी सबै झन्झटीलो प्रक्रिया उनले पार गरे ।

खासमा त्यतिबेला विदेशीने लहर चल्न थालेको थियो । यही लहैलहैमा लागेर उनी पहिलो पटक विदेशी भूमि थाइल्याण्ड टेके । त्यहाँबाट इलेक्ट्रोनिक सामान ल्याएर काठमाडौँमा बेच्न थाले । सन् १९८० देखि १९९४ सम्म हङकङमा ट्रेडिङ विजनेशको अफिस नै खोलेर बसे । सोनाम अब पक्का व्यापारी भए।

विदेशमा नेपाली कार्पेट (गलैंचा) को माग बढी छ भन्ने पत्तो पाएपछि सोनामको मन त्यतातिर लाग्न थाल्यो । सोनामले नेपालमा साँग्रीला ट्रेडिसनल कार्पेट फ्याक्ट्री सञ्चालनमा ल्याए। यो सन् १९९४ को कुरा थियो । त्यसबेला उनले ३ सय जनालाई आफ्नो फ्याक्ट्रीमा रोजगार पनि दिए । हङकङ, सिंगापुर, जर्मनी, पेरिस हुँदै उनको गलैंचा क्यानडासम्म पुग्यो । अब उनी व्यापारीमात्र रहेनन्, उद्योगी पनि बने।

अनि पाताल प्रवेश

सन् १९९४ मा कार्पेटको मार्केटिङ गर्न बिजनेस भिसामा युरोप पुगे । युरोपको सबै शहर घुमे । तर, कार्पेट बेच्नका लागि सहज स्थिती नभएपछि अमेरिका पुगे । एक वर्षे थप विजनेस भिसा पाए । अमेरिकामा ३ महिना बस्दै गर्दा न्यूयोर्कबाट ग्रीनकार्डको प्रक्रिया अघि बढाए । तर, सोचे जस्तो भएन,अमेरिकामा पनि नेपाली कार्पेटले राम्रो बजार पाउन सकेन । उनले अमेरिकामै अर्को व्यवसाय सञ्चालन गर्ने मुड बनाए । सन् १९९५ मा अर्ग्यानिक सुपरमार्केट सुरु गरे । सुरुमै ११ जनालाई काम दिए।

नेपालदेखि विश्वका विभिन्न ठाउँबाट आउने अर्ग्यानिक खानेकुरा यो मार्केटबाट किन्न सकिन्थ्यो । मार्केट विस्तार हुँदै गएपछि अमेरिकाका बोस्टर्न लगायत ठाउँमा ७ वटा शाखा खोल्न सफल भए । ‘त्यो समय जति पनि नेपाली अमेरिका गए, प्रायलाई मैले यो मार्केटमा काम दिएको थिएँ’ सोनामले पूराना दिन सम्झिए,‘त्यो समय न्यूयोर्कमा सम्भवत व्यवसाय गरेर बस्ने नेपाली म मात्रै थिएँ होला ।’

सोनाम अमेरिका बस्न थालेपछि उनकी श्रीमती र छोराछोरी पनि अमेरिका आएका थिए । तर, अमेरिका बसाइ मन परेन भनेर नेपाल फर्किए । व्यवसायमा सफलतासँगै ग्रीनकार्ड स्वीकृत भयो । ग्रीनकार्ड आएपछि परिवार सबै अमेरिकामा बस्न थाले।

अहिले अमेरिकामा सोनाम परिवारको २ वटा सुपरमार्केट चलिरहेको छ । २००५ मा खोलेको हिमालयन याक रेष्टुरेण्ट पनि सञ्चालनमा छ । अमेरिकामा भएको सबै व्यवसाय उनकी श्रीमतीले रेखदेख गर्छिन । ‘दुई छोरी फार्मेसीमा काम गर्छन । एउटा छोरो आइटी इन्जिनियर छ,’ सोनाम भन्दै थिए,‘छोराछोरीले राम्रो काम गरेकोले मैले स्वतन्त्र रुपमा सामाजिक कार्य गर्न सकिरहेको छु।’

चमुले पुर्यायो एनआरएनएको बाटोमा

अमेरिकामा रहेका मुस्ताङ्गीहरुले खोलेको संस्था हो,मुस्ताङ चमु अर्थात् ‘मुस्ताङ समाज’ । यही मुस्ताङ समाजको पहिलो उपाध्यक्ष भएर समाजसेवामा हात हालेपछि उनको मन यतैतिर अडिन थाल्यो । बुद्धिस्ट कम्युनिटी, हिमाली कम्युनिटी,शेर्पा समाजलगायतका सामाजिक संस्थाहरुमा उनी सक्रिय रहे । बुद्धिस्ट कम्युनिटीबाट न्यूयोर्कमा दलाई लामालाई स्वागत र सम्मान गरेको उनी अहिले पनि सम्झिन्छन्।

बुद्धिस्ट कम्युनिटीले नेपालमा गुम्बाहरुलाई सहयोग पठाउन थाल्यो । शेर्पा समाजले अमेरिकामा नै गुम्बा बनायो । सोनामले त्यसको समन्वय गर्न थाले । अमेरिकामा सामाजिक कार्यमा सक्रिय रहनेक्रममै उनी एनआरएनएसँग जोडिए । सामाजिक क्षेत्रमा उनको सक्रियता देखेरै होला,सन् २००६ मा अमेरिकाले उनलाई ‘वल्र्ड हेरिटेज’ अवार्डले सम्मान गरेको थियो।

त्यतिबेला एनआरएनएका अध्यक्ष थिए देवमान हिराचन । हिराचनकै पटक पटकको आग्रहपछि सोनाम एनआरएनएसँग जोडिए । उनी अहिले एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषदको उपाध्यक्ष तहसम्म पुगेका छन् । सन् २००९ मा आइसीसी सदस्यबाट शुरु भएको यात्रामा दुई कार्यकाल आइसीसी सदस्य, अमेरिका क्षेत्रको क्षेत्रीय उपसंयोजक, संयोजक हुँदै पदाधिकारीको तहमा चढेका हुन्।

मिशन लाप्राक
२०७२ सालको महाभूकम्पपछि एनआरएनएले थालेको एउटा महत्वाकांक्षी परियोजना हो, लाप्राक नमुना वस्ती निर्माण । भूकम्पको केन्द्र विन्दु गोरखा बारपाक नजिकैको लाप्राकमा एनआरएनएले ५ सय ७३ वटा घरसहितको नमुना वस्ती निर्माण गरिरहेको छ।

६ वर्ष बित्न लाग्दा पनि यो नमुना वस्ती निर्माण कार्य अझै पूरा हुन सकेको छैन।

वस्ती निर्माण परियोजनाका संयोजक छन्, सोनाम । सन् २०१९ मा एनआरएनएमा उपसभाापतिको भूमिकामा चूनिएपछि लाप्राक परियोजनाको जिम्मा उनलाई दिइएको हो ।भौगोलिक विकटता र मौसमको प्रतिकूलताका कारण अझै वस्ती निर्माण पूरा भएको छैन । काम गर्ने मजदुर पाउन गाह्रो, सामान लैजान उत्तिकै समस्या । गाउँपालिका र वडा अध्यक्षले बस्तीको काम गर्ने चासो देखाएपछि १७ जनाको समिति बनाएर कामको जिम्मा दिए । गाउँपालिका र वडाले काम जिम्मा लिए तर, धेरै ढिलो हुन थाल्यो । धेरै पटक समय थप्दा समेत काम नसकेपछि पुन: काठमाडौंबाट कामदर पठाएर काम गराए । तोकिएको समयमा काम सम्पन्न हुन सकेन । तर, पनि सरकार र नेपाली सेनाको सहयोगमा काम अघि बढाए।

घर बनाएर मात्रै भएन,सुविधा पनि दिनुपर्ने भएकोले एनआरएनएले सम्पूर्ण सुविधा सहितको घर हस्तान्तरण गर्दैछ । एनआरएनएलाई पछ्याउँदै स्थानीय गाउँपालिकाले पनि २९ घर बनायो । यो अभियान अहिले अन्तिम चरणमा पुगेको छ । सोनाम भन्छन,‘सबै घर १२ बैशाखमा हस्तान्तरण गर्ने तयारी भइरहेको छ ।’

एनआरएनएमा सक्रिय

समाज सेवा गर्ने उदेश्यले एनआरएनएमा जोडिएको बताउने सोनामा व्यक्तिलाई होइन संस्थालाई सम्मान गर्नुपर्ने अवधारणा राख्छन् । ८३ वटा देशमा फैलिएको एनआरएनएलाई नेपाल सरकारले सम्मान गरेको उनको अनुभव छ । ‘नागरिकताको विषयमा आफैले जिम्मा लिएर काम गर्दै छु । एनआरएनएको मागमध्य ९७ प्रतिशत संविधानमा समेटी सकेको छ,’ सोनाम भन्छन,‘राज्य व्यवस्था समितिले राजनीतिक अधिकार बाहेक अन्य अधिकार समेटेर एनआरएनएले पेश गरे अनुसार विधान तयार गरिसकेको छ । संसदबाट पास हुन बाँकी छ ।’

विश्वभरी कोरोनाको कहर व्याप्त भएपछिको झण्डै एक वर्ष त सोनाम नेपाल सरकार र एनआरएनका सेतु नै बनेर काम गरे । कोरोना महामारी र लकडाउनका कारण भोग्नु परेको सास्ती हटेपनि उनलाई कामको चाप भने उस्तै छ । अध्यक्ष कुमार पन्तको कार्यसमितिमा रहेका मध्ये सोनाम निकै सक्रिय रहने पदाधिकारीमध्यमा पर्छन । ‘पैसा कमाएर अनि आफ्नो व्यापार,व्यवसाय जमाएर यो एनआरएनएमा लाग्दा राम्रो हुन्छ,’ सोनाम सुनाउँदै थिए,‘किनभने सामाजिक कार्यमा लागिसकेपछि कमाउनतिर ध्यान दिन गाह्रो छ।’

अब हिँड्ने बाटो

आउँदै गरेको एनआरएनएको निर्वाचनमा अध्यक्षको प्रत्यासीमा सोनामको रुची देखिन्छ । यो पदमा उनको दावी अस्वाभाविक पनि होइन । संस्थाको नेतृत्व गर्न उनी सक्षम पनि छन् । ‘एनआरएनएको चुनावको सवालमा मेरो एउटै जोड के हो भने संस्थालाई राम्रो नेतृत्व गर्ने मान्छे आवश्यक छ । संस्थालाई राम्रोसँग सञ्चालन गर्ने व्यक्ति आएमा सहयोग गर्न तयार छु,’ सोनाम भन्छन,‘म आफैले पदको दावि गर्ने कुरा आउँदैन । तर संस्थाले जिम्मेवारी दिन्छ भने अध्यक्ष भएर काम गर्न पनि तयार छु ।’

एनआरएनए विशुद्ध समाजसेवाको भावले सञ्चालनमा आएको हुँदा चुनावबाट नभइ सहमतिबाट नेतृत्व चयन गर्नुपर्छ भन्नेमा सोनामको जोड छ । कुनै पनि राजनीतिक पार्टीको आड लिने होइन कि राजनीतिबाट पृथक रहनुपर्छ भन्ने सोच उनको हो । भन्छन,‘राजनीति भनेको संस्था बिगार्ने चिज रहेछ ।’

सक्षम, राजनीतिबाट टाढा, संस्थाबाट लिनेभन्दा परेको बेला दिन सक्ने व्यक्ति जसलाई संस्थाको बारेमा हरेक जानकारी छ,त्यस्ता व्यक्तिलाई सहमति मार्फत संस्थाको नेतृत्व सुम्पिन पर्ने उनको आग्रह छ । भन्छन,‘८३ देशका सदस्य एंवम पूर्व पदाधिकारी सम्पूर्णमा मेरो यहि अनुरोध छ ।’

भाग्यमानी सोनाम

सोनाम नामको अर्थ छ । तिब्बती भाषामा यो नामको अर्थ हुन्छ, भाग्यमानी । तर सोनामको हकमा भाग्यले मात्र होइन उनले आफ्नै मिहिनेतको बलमा अहिलेसम्मको उचाइ हासिल गरेका हुन् । उनले देखेको सपना यसकारण पनि सार्थक हुदैँ गएको छ।

जागेर सपना देख्ने सोनामले अझै पनि धेरै सपना साँचेका होलान,पक्कै पनि । कुनै दिन ती सपना पनि पूरा होलान।

उनलाई सोधियो,‘कि कसो,सोनाम लामाज्यु ?’