वैदेशिक रोजगारी : बितेको ९ महिनामा ६ सय १५ नेपालीले ज्यान गुमाए

वैदेशिक रोजगारी : बितेको ९ महिनामा ६ सय १५ नेपालीले ज्यान गुमाए

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका ६ सय १५ नेपालीले ज्यान गुमाएका छन् ।  पछिल्लो तथ्याङ्कअनुसार मलेसिया, साउदी अरेबिया, कतारलगायत देशमा बितेको ९ महिनामा ६ सय १५ नेपालीले ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी दीन वन्धु सुवेदीले बताए ।

नेपाली कामदारले ज्यान गुमाउने देशमध्ये मलेसिया पहिलो रहेको छ । गत साउनदेखि चैत महिनासम्म मलेसियामा १ महिला सहित २ सय २३ जनाले ज्यान गुमाएका छन् । यसैगरी साउदी अरेबियामा १ महिला सहित १ सय ६९ जना, कतारमा ३ महिलासहित ९८ जना र कुवेतमा ४ महिला सहित २४ जनाले ज्यान गुमाएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी यस अवधिमा युनाइटेड अरब इमिरेट्समा एक महिलासहित ४६ जना, यूएईमा एक महिलासहित २७ जना, बहराइनमा एक महिलासहित ११ जना र दक्षिण कोरियामा ५ जनाको मृत्यु भएको छ । तथ्याङ्क अनुसार रोमानियामा २ जना, ओमन, लेबनान, इजरायलमा एक/एक जनाले ज्यान गुमाएका छन् । साथै जोर्डनमा २ महिलासहित ३ जना,जापानमा २ जना र साइप्रसमा एक महिलासहित २ जनाको ज्यान गएकोे छ ।

पछिल्ला तीन वर्षको तथ्याङ्क अनुसार विदेशमा आर्थिक वर्ष २०७४/७५ मा ७ सय ५६, आर्थिक वर्ष २०७५/७६ मा ८ सय २१ र गत वर्ष ६ सय ५६ जनाले ज्यान गुमाएका थिए । चालु आर्थिक वर्षको ९ महिनामा भने ६ सय १५ जनाको ज्यान गइसकेको बोर्डले जनाएको छ ।

रोजगारीका लागि खाडी मुलुकमध्ये साउदी अरेयिबा, मलेसिया, यूएई र कुवेतमा धेरै संख्यामा नेपाली कामदार भित्रिने गर्दछन् । त्यसमध्ये पनि अदक्ष जनशक्तिको संख्या उच्च भएकाले यी मुलुकमा मृत्यु हुनेको संख्या बढेको छ ।