एनआरएनए हङकङको संयोजकत्वमा आगलागीपीडित नेपालीका परिवारलाई आर्थिक सहयोग

एनआरएनए हङकङको संयोजकत्वमा आगलागीपीडित नेपालीका परिवारलाई आर्थिक सहयोग

जोर्डन । हङकङमा भएको आगलागीमा ज्यान गुमाउने तथा घाइतेका परिवारलाई १ लाख  ३३ हजार ७०८ हङकङ डलर  आर्थिक सहयोग गरिएको छ ।

जोर्डनस्थित नेपालीले सञ्चालन गरेको एक रेस्टुरेन्टमा गत १५ नोभेम्बरमा आगलागी भएको थियो । जसमा परी ८ जना नेपालीले ज्यान गुमाएका थिए भने १० जना नेपाली घाइते भएका थिए ।

पीडित परिवारलाई थोरै भए पनि राहत होस भन्ने उद्देश्यले महावाणिज्य दूतावास हङकङको संरकक्षत्व र एनआरएनए हङकङको संयोजकत्वमा आर्थिक संकलन गरिएकाे थियो । जसमा  नेपाल चेम्बर अफ कमर्स हङकङ र आदिवासी जनजाती महासंघ हङकङ सदस्य थिए ।

संघको कार्यलयमा शनिबार आयोजित कार्यक्रममा मृत्यु भएका ८ परिवारलाई जनही १० हजार २७६ र गम्भिर घाइते भएका ९ परिवारलाई जनही ५ हजार ५०० सय डलरका दरले सहयोग उपलब्ध गराइएको हो । त्यस्तै सामन्य घाइते भएकी टिया गुरुङलाई २ हजार सहयोग गरिएको हो।

राहत संकलन अभियानकी संयोजक समेत रहेकी एनआरएनए हङकङकी अध्यक्ष राधिका गुरुङले आगलागी पीडितलाई यसअघि आफूहरुले विभिन्न किसिमले सहयोग गरेको बताइन् । ‘चाडपर्वको मुखैमा भएको त्यो घटना हङकङवासी नेपालीका लागि इतिहासकै कालो दिन थियो,’ सहयोग हस्तान्तरण कार्यक्रममा उनले भनिन्, ‘ थोरै भए पनि दुःखमा मलहम लगाउने कोशिस गरेका हौँ । एउटा नेपाली परिवारलाई दुःख पर्दा हामी पनि सँगै छौँ है भन्ने हाम्रो प्रयास हो ।’

जनजाती महासंघका किसान राईले समुदायस्तरबाट पनि केही गर्नुपर्छ भन्ने हेतुले आफूहरु सहयोगको लागि जुटेको बताए । सहयोग हस्तान्तरण कार्यक्रममा महावाणिज्यदूतावासका हङकङका कन्सुलर किरण कुमार गुरुङ प्रमुख अतिथि थिए भने नेपाल चेम्बर अफ कमर्स हङकङका अध्यक्ष डासुसाम पराजुली अतिथि थिए ।

आगलागी हुँदा विनिता तामाङ, कृति कँडेल, सुरक्षा कँडेल,अनिता निरौला, युवराज कडेल, शेरबहादुर गुरुङ, रामबाबु नेपाल र रायन नेपालको मृत्यु भएको थियो। त्यस्तै घटनामा गीता कँडेल, सुवित्रा थापा, लाक्पा शेर्पा, कुलराज कँडेल नीला राई, मुकेश श्रेष्ठ, शालिकराम कँडेल, देबकी कँडेल र हस्तमाया धिमाल राई घाइते भएका थिए। टिया गुरुङकाे अवस्था भने सामान्य थियो ।