लण्डनमा छन् कर्मवीर कृष्ण

लण्डनमा छन् कर्मवीर कृष्ण

धादिङबेसीमा एकपटक यस्तो भयो । धादिङको कुनै गाउँबाट निम्न माध्यमिक तहको पढाइ पूरा गरेको एउटा किशोर सदरमुकाम झर्यो । एकदिन गाउँबाट ती किशोरका बुवा धादिङबेसी आए । झटपट उनलाई लुगा किन्दिन पसल डुलाउन थाले । बुवाले कोट पाइन्ट किन्दिने सुर कसेपछि किशोरले सोचे,‘कतै मेरो बिहे गरिदिन पो लागे क्या ! हो,रहेछ । कक्षा ८ पढ्दा पढ्दै उनको विवाह भयाे।

भन्छन् नि ,विवाहपछि मानिसको जीवनमा सपनाका चाङ लाग्न थाल्छन रे । यस्तै यस्तै भयो उनलाई।

तर, सपना न हो । सपनाको के कुरा ! देखेको सपना पूरा हुन्छ भन्ने ग्यारेण्टी अहिलेसम्म कसैले दिएको पनि छैन् । कृष्ण तिमल्सेनाले पनि कुनै बेला धादिङको धुवाँकोटमा सपना देखे ।

२०४९ । कृष्णले एसएलसी उत्तिर्ण गरेको समय थियो त्यो । किन–किन उनलाई विदेश जाने शुर चल्यो । जापान जाने,धन कमाउने अनि कमाएको पैसाले परिवार सजाउने सपना थियो। तर, त्यसो भएन । सपना साकार नहुदैँ,त्यसको भ्रुण हत्या भयो । १६ वर्षको उमेर कलिलो ठानियो । जापानले ‘नो इन्ट्री’ पो भन्दियो ।

जापान जान नमिलेपछि अब कता जाने ? विवाह भइसकेको थियो । जिम्मेवारीको डोको काँधमा थियो ।

अनि त दिल्ली यात्रा

जहाँ इच्छा,त्यहाँ उपाय । भारतको दिल्लीमा बुवा थिए । भारतीय सेनामा कार्यरत बुवालाई भेट्न उनी हान्निए दिल्लीतिर । आमाले हातमा राखिदिएको एउटा गान्धी नोट (पाँच सय भारतीय रुपियाँ),तीनवटा गैँडा (तीन सय नेपाली रुपियाँ) र भर्खर निकालिएको नेपाली नागरिकताको प्रमणपत्र बोकेर कृष्ण दिल्ली दौडिए।

दिल्ली छिरेका कृष्णले ३ वर्षे होटल ब्यवस्थापन तथा पर्यटन पढेर भ्याए । उनलाई प्रशिक्षित गर्ने गुरुले पासपोर्ट बनाउन जाँदा साथी गएका उनले आफ्नो पनि पासपोर्ट बनाएर पो फर्किए । प्रशिक्षण दिने गुरुलाई कुवेत लैजाने स्पोन्सरको हातमा उनको पासपोर्ट परेपछि भाग्यवस उनको पनि भिसा लाग्यो।

अब कुवेत कुदे कृष्ण

यसरी उनी धादिङको धुवाँकोटबाट दिल्ली हुँदै उनी कुवेत कुदे । उनले कुवेत पुगेर ६ वर्ष सेफको रुपमा काम गरे । तर, कुवेत बस्दा युरोप, अमेरिकालगायतका देश छिर्ने सपना देख्न थाले । उनको यो सपना लन्डनस्थित नेपाली होटलमा सेफको लागि आएको प्रस्तावले पूरा गरिदियो।

‘पारिवारिक चिनजान भएकै लण्डन बस्ने एक जना दाईसँग नेपालमा भेट भयो र आफ्नो पेशासँगै सोचको बारेमा उहाँलाई जानकारी गराएँ’,कृष्णले ती दिन सम्झिए,‘उहाँले आफ्नै होटलमा सेफको अफर गर्नुभयो । उहाँकै स्पोन्सरमा लन्डन पुगेँ ।’ यसरी आधारभूमि तयार भएपछि सन् २००१ मा वर्क परमिट लिएर लण्डन पुगे,कृष्ण ।

लक्की लण्डन

लण्डन छिरेपछि उनले नेपालमा देखेको सपना पूरा हुँदै थियो । उनका लागि लण्डन लक्की सावित हुँदै थियो । १५ वर्षभन्दा बढी समयदेखि लन्डनलाई कर्मथलो बनाउँदै आएका यी कर्मयोगी कृष्णले लण्डनमा के गरेनन् ?

लण्डनमा नेपाली होटलमा सेफको रुपमा काम गरे । डेढ वर्षपछि होटल बेचेकोले काम खोज्ने क्रममा उनले इन्डियन होटलमा काम पाए । इन्चार्जको रुपमा काम गर्न छिरेका उनलाई होटल मालिकले पार्टनर बनाए । यहिबाट सुरु भयो उनको व्यवसायीक यात्रा । अझै पनि उनी यहि होटलमा पार्टनरनै छन् । भन्छन,‘मेरो आफ्नै व्यवसाय पनि छ, तर अझै यो होटलमा पार्टनरसिपमा छु ।’

जागीरको सिलसिलामा लन्डन पुगेका उनले जागीर मात्रै गरेर हुँदैन व्यवसाय पनि गर्नुपर्छ भन्ने सोचले २००७ मा ‘क्रिसफूल’ नामक कम्पनी खोले । होटल लाइनमा काम गर्ने भएकोले उनले आफ्नो व्यवसाय पनि सोहि क्षेत्रलाई नै बनाए। उनको कम्पनीले होटल,रेष्टुरेण्ट, गेष्टहाउस र पर्वहरुमा खाद्यान्न, पेय पदार्थ, प्लाष्टिकका सामानलगायतका सामान आपूर्ती गर्छ । उनी आफै मालिक । आफै म्यानेजर पनि।

भारत बसेदेखि नै आफूलाई व्यवसायतर्फ ढाल्ने सोच बनाएका थिए, कर्मवीर कृष्णले । जागीरभन्दा पनि चिया बेचेरै भएपनि व्यवसाय गर्नुपर्छ भन्ने सोच राख्ने धेरै भारतीय भेटेकोले पनि आफू व्यवसायतर्फ उन्मुख भएको उनी बताउँछन् । ‘चिया बेचेरै भएपनि व्यवसाय गर्नुपर्छ भन्ने कुरा मैले दिल्ली बसाइमा सिकेको थिएँ,’ कृष्णले आफ्नो कथा सुनाउने क्रममा प्रवास खबरसँग भने, ‘कुवेत आएर पनि ती कुरालाई ख्याल गरेको थिएँ, तर, मौका मिलेन । लण्डनले मौका दियो ।’

स्पोन्सरले जुन कामको लागि ल्याएको हो सोही काम गर्नुपर्ने लन्डनको नियमले गर्दा पनि उनले ४ वर्षसम्म सेफकै काम गरे । लन्डन पुगेको १८ महिनामै घर किनेका उनले ४ वर्षपछि आवासीय भिसा लिएर मात्रै आफ्नो व्यवसाय गर्ने सोचलाई साकार पारे ।

संघर्ष नै सफलताको कडी

यी कर्मवीर कृष्णका अनेक रुप छन् । अनेक रङ छन् । सफल व्यवसायी, समाजसेवी, एनआरएनए युरोप क्षेत्रका उपसंयोजक, अनुभवी सेफ । सफलताको सगरमाथा उक्लिने लक्ष्य भएपनि धेरैलाई थुप्रै आरोह अवरोह आइलाग्छ । कृष्णले पनि यी दिनहरु नदेखेका होइनन् । तर, उनलाई थाहा थियो,संघर्षले सफलताको ढोका खोल्छ भन्ने । उनका जीवनका भोगाइ, उतारचढाव, मिहिनेत र धैर्यता धेरैका लागि प्रेरणाका श्रोत हुन सक्छन्।

‘सफलता पाउन संघर्ष गर्नुपर्छ,यदि संघर्षबाट टाढिने हो भने कहिल्यै सफलता प्राप्त हुदैन’, कृष्ण सफलताको मन्त्र सुनाउँदै थिए,‘काम र जिम्मेवारीलाई पहिलो प्राथमिकता दिनुपर्छ, समय त सबैले पाउने उही हो ।’ समय मूल्यवान छ, त्यसलाई कसरी सदुपयोग गर्ने भन्ने ख्याल गर्न सक्नु नै बुद्धिमत्ता हो । आफूलाई इमान्दारीपूर्वक परिवर्तन गराउन सक्नु पनि अर्को महत्वपूर्ण पक्ष हो । कृष्णले यही गरे ।

प्रवास खबरसँग आफ्नो सफलताको मन्त्र सुनाउँदै कृष्ण

संघर्षबाट भागेर होइन, संघर्षसँग लडेर अगाडी बढ्ने हो भने सफलता मिल्ने बताउँछन् उनी । कृष्णको कुरा सुन्ने हो भने धैर्यता र सहनशीलता कायम राख्न सके सफलता हाम्रै वरिपरी छ । वर्षाैको अथक मेहेनत र परिश्रमकै कारण यो स्थानसम्म आइपुगेको बताउँछन् । ‘सफलताको लागि २ वटा कुरा चाहिन्छ, एउटा मेहेनत र अर्काे इमान्दारीता,’कृष्ण भन्छन,‘इमानदारीता हुनुपर्याे, मेहनत गर्न पछि हट्नु भएन,सफलता अवश्य मिल्छ ।’

लण्डन आएपछि कृष्णले आफ्नो लागि मात्र संघर्ष गरेनन्, अरुका लागि पनि उत्तिकै संघर्ष गरे । चाहे यहाँको स्थानीय समाजका लागि होस्, चाहे स्वदेशमा आपतविपत आइलाग्दा । निरन्तर सहयोगको भावनाका साथ अघि बढे उनी । अरुलाई सहयोग गर्न र दुःखमा साथ दिने काममा कहिल्यै पछि परेनन् । ज्ञान र वुद्धि जस्तै धन सम्पति पनि आफूमा मात्र सिमित नराखी अरुलाई जति बाँड्यो उति फैलिने बताउँछन,धार्मिक स्वभावका कृष्ण । सानो ठूलो नभनी भेदभावरहित समान सह–अस्तित्व उनले अनुशरण गरेका सफलताका मन्त्र हुन् । सरल र सालिन स्वभाव, सहयोगी अनि इमान्दारीताका कारणनै लण्डनको समाजमा लोकप्रिय छन्,कृष्ण ।

कृष्णले नेपाल, भारत वा लण्डनका कयौं नेपालीलाई वर्क परमिट दिलाएर सहज जीवन बाँच्न सहयोग गरिदिए । लण्डनमा सञ्चालित नेपाली रेष्टुरेन्ट र ती रेष्टुरेन्टमा काम गर्ने सेफहरुलाई एकताको सूत्रमा बाँध्न पनि उत्तिकै बल गरे ।

उनले सन् २०१२ मा बेलायतका सेफहरुलाई एक बनाउने उद्देश्यले ‘नेप्लिज सेफ एसोसिएशन यूके’ गठन गरे । यहाँ रहेका समस्त रेष्टुरेन्ट व्यवसायी तथा यसमा काम गर्ने सेफलाई थप उर्जा थप्ने प्रयत्न गरे । नेपाली खाना विदेशीमाझ चिनाउन र नेपाली रेष्टुरेन्ट व्यवसायलाई सफलता दिलाउन एसोसिएशनको तर्फबाट निकै ठूलो योगदान भयो जसको जस कृष्णले पाएकै छन् ।

नेप्लिज सेफ एसोसिएशन यूकेका संस्थापक अध्यक्ष उनी लण्डनमा नेपाली खानालाई अन्तर्राष्ट्रियकरण गर्न अहोरात्र खटिए । नेप्लिज सेफ एसोसिएसनको एक च्यारिटी कार्यक्रममा बेलायतका लागि निवर्तमान नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले उनको खुलेर प्रशंसा नै गरे । उनले कार्यक्रममै भने,‘कृष्णजी नेपाली समाजका एक आदर्श पुरुष हुनुहुन्छ,उहाँजस्ता व्यक्तित्वबाट अरुले पनि प्रेरणा लिन सक्नुपर्छ ।’

नेपाल र नेपालीको सेतु एनआरएनए

गैरआवासीय नेपाली संघमा सन् २००७ देखि साधारण सदस्यका रुपमा प्रवेश गरेका कृष्ण अहिले एनआरएनए युरोप क्षेत्रका उपसंयोजक छन् । यसबीचमा उनले कार्यसमिति सदस्य हुँदै एनआरएनए यूकेको उपाध्यक्षको समेत जिम्मेवारी सम्हाले ।

गैरआवासीय नेपाली संघलाई विश्वभरका नेपालीको साझा संगठनको रुपमा अघि बढाउन र विदेशमा रहेका नेपालीबाट स्वदेशमा लगानी गर्ने अवसर जुटाउन पहल गर्नुपर्ने उनको धारणा छ । नेपालमा हाइड्रो क्षेत्रमा धेरै पैसा खन्याएका उनी अन्य नेपालीलाई पनि स्वदेशको समृद्धि र आफ्नो व्यवसायिक लाभका लागि लगानी गर्न उत्साहित तुल्याउँछन । आफूलाई भन्दा अरुलाई राम्रो हुनुपर्छ भन्ने सोच कृष्णको छ ।

स्कुल पढ्दादेखि नै सामाजिक कार्यमा अग्रसर थिए उनी । उनको समाजसेवा गर्ने इच्छा भने एनआरएनएमा जोडिएपछि वृहत बन्दै गएको छ । उनी आफूलाई संस्थाको एउटा सिपाहीको रुपमा लिन्छन् । ‘म संस्थाको साधारण सदस्य हुँ,’ भन्छन,‘तर आफ्नो जिम्मेवारी भने इमान्दारीताका साथ निभाउँदै आइरहेको छु र पछिसम्म पनि निभाइरहनेछु ।’

विदेश बस्दा नेपालको माया धेरै लाग्ने कृष्ण बताउँछन् । ‘नेपालमा केहि लगानी गरौं, केहि सामाजिक कार्य गरौं भन्ने सोच मेरो मात्रै हैन विदेश बस्ने हरेक नेपालीको हुन्छ,’ उनले भने, ‘विदेश बसे पनि आफ्नो रहनसहन, परिवार, नातागोता नेपालमै भएकोले आधा नेपालमै छौं भन्ने लाग्छ ।’ त्यसैले पनि उनी नेपालको बारेमा सोचिरहन्छन् । नेपाल विकसित भैदिए हुन्थ्यो जस्तो लाग्छ उनलाई।

एनआरएनएप्रति नेपालभित्रका केहि नेपालीले राख्ने नकारात्मक सोचलाई भने आफूले सकारात्मक रुपमै लिने गरेको उनी बताउँछन् । ‘नेपालमा बस्नेले हामीलाई नराम्रो सोच्नु ठिकै हो किनभने उनीहरुले वास्तविकता देखेका छैनन्,’ कृष्ण भन्छन्, ‘त्यसैले यसलाई हामी सकारात्मक रुपमै लिन्छौं।’

विदेशमा बसेर, परिवार पालेर बाँकी बसेको समय, विदेशमा सिकेको ज्ञान र सीपलाई नेपालमा लगानी गरी देश विकास गर्ने सोच एनआरएनएको रहेको उनले बताए । ‘जति पनि विदेशमा छन् नेपालभन्दा उनीहरुका लागि विदेशमै राम्रो अवसर छ,’ कृष्ण सुनाउँछन,‘तर, आफ्नो बालापन बितेको देशमा विकासका केही कार्य गर्नु हाम्रो कर्तव्य हो।’

‘गैरआवासीय नेपाली संघमा जोडिएको यत्तिका वर्ष भैसक्यो । साधारण सदस्यबाट म यहाँसम्म आइपुगेको छु । अहिले कार्यसमितिमा पनि छु,’ संघको आउँदो चुनावमा कुन भूमिकाको लागि दावेदार ? भन्ने प्रश्नमा उनको सरल जवाफ थियो,‘साथीभाइ, टिमसँग छलफल गरेर म पनि कुनै ठाउँमा फिट हुन्छु भने पक्कै पनि चुनावमा जान तयार हुन्छु । तर, अहिले नै यसो गर्छु उसो गर्छु चाँही भन्दिन ।’

श्रीमतीको सधैँ साथ

लन्डन छिरेको ४ वर्षपछि आवासीय भिसा पाएका कृष्णले परिवारलाई पनि उतै लिएर गए । श्रीमती,२ छोरी १ छोरासहितको उनको परिवार लन्डनमै छन् । गत वर्ष मात्रै ठूली छोरीको बिहे भएको थियो। छोरी ज्वाइ पनि लन्डणमै छन् ।

होटलमा सेफको कामका साथै आफ्नै कम्पनिमा व्यस्त उनले परिवारलाई भने भने जस्तो समय दिन पाउँदैनन् । ‘समय दिएन भनेर बेलाबखत छोराछोरीको गुनासो आउँछ,छोराछोरीलाई घुमाउन लाने सक्दो कोसिस गर्छु,’ कृष्ण आफ्नो परिवारको बारेमा गफिदै थिए,‘छुट्टिको समयमा छोराछोरीलाई नेपाल लाने कोसिस रहन्छ । नेपाल जाँदा रहनसहन, संस्कार, परम्परा र भाषा सिक्ने मौका मिल्छ ।’

उनको यो सफलतामा परिवारको ठूलो देन रहेको छ । श्रीमती त झन टेकोकै रुपमा उभिएकी छिन् । कृष्ण भारत पसेदेखि नै घरमा दुई भाइ, बहिनि र आमाको जिम्मेवारी सम्हालेकी थिइन् उनकी श्रीमतीले । लन्डन छिरेपछि दुई छोरा र एक छोरीको हेरविचारदेखि घरको सबै जिम्मा उनकै काँधमा छ । ‘घरमा पाहुना आयो भने मुस्किलले चिया कफी पकाएर खुवाउन सक्छु, त्यसबाहेक मलाई घरको अरु केहि आउँदैन र थाहा पनि छैन,’ कृष्ण भन्छन,‘म घर बाहिरको काम हेर्छु, श्रीमतीले घर व्यवहार हेर्छिन् ।

परिवारबाट यस्तै सहजता पाएपछि लण्डनमा कृष्णले आफ्नो लीला देखाइरहेका छन् । यसैले त त्यहाँ उनले नाम कमाएका छ्न,दाम कमाएका छन् । आगामी दिनमा उनले के कस्तो लीला देखाउने हुन् ?

यी कर्मवीर कृष्णको लीला हेर्न बाँकी नै छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *