दोस्रो पुस्तालाई नेपाली सिकाउन स्कुल स्थापना गर्दै एनआरएनए दक्षिण कोरिया

सौल । गैरआवासीय नेपाली (एनआरएन) का दोस्रो पुस्तालाई नेपाली भाषा सिकाउने उदेश्यका साथ एनआरएनए दक्षिण कोरियाले ‘मदर टंग स्याटर्डे स्कुल’ सञ्चालनमा ल्याउने भएको छ । एनआरएनए कोरियाका अध्यक्ष यज्ञराज सुवेदीका अनुसार ३ अप्रिलमा भर्चुअल माध्यमबाट स्कुलको उद्घाटन गरिनेछ ।

‘एनआरएनए कोरियाको अभियान, दोस्रो पुस्तामा नेपाली भाषा, संस्कृतिको पहिचान’ भन्ने नारा सहित उक्त स्कुल सञ्चालन गर्न लागिएको हो । यस स्कुलमा दोस्रो पुस्ताका बालबालिकालाई नेपाली भाषासँगै नेपाली संस्कृतिको बारेमा सिकाइने अध्यक्ष सुवेदीको भनाइ छ । यो स्कुलमा नेपालमा जन्मेका र नेपाली सिक्न इच्छुक कोरियन बालबालिकालाई समेत नेपाली भाषा सिकाइने उनले जानकारी दिए ।

‘यो स्कुलमा नेपालमा लामो समय बिताएका कोरियन नागरिक र नेपाली प्रशिक्षकले (स्वयमसेवक) को रुपमा नेपाली भाषा र संस्कृतिको पढाउनेछन्,’ अध्यक्ष सुवेदीले प्रवास खबरसँग भने, यो एउटा फरक सुरुवात हो।’ प्रशिक्षकमा कोरियन भाषासँगै नेपाली भाषाको ज्ञान हुनुपर्ने भएकाले कोरियनसँगै नेपाली नागरिकलाई स्वयमसेवकको रुपमा राख्न लागिएको उनको भनाइ छ । त्यस्तै स्कुलमा नेपालका विभिन्न साँस्कृतिक संस्थानसँग जोडिएर भर्चुअलमार्फत कला, संस्कृति परम्पराको बारेमा अडियो भिडियो पनि देखाइनेछ।

प्रत्येक शनिबार सञ्चालन हुने यस स्कुलमा निःशुल्क पढाइनेछ । स्कुल सञ्चालन वापत लाग्ने सम्पूर्ण खर्च भने एनआरएनए दक्षिण कोरियाले व्यहोर्ने छ । यो स्कुल सञ्चालन गर्नुको उदेश्य विशुद्ध नेपाली भाषा सिकाउने भएकोले कुनै शैक्षिक मान्यतासँग सम्बन्धित रहने छैन् ।

भर्चुअल माध्यमबाट हुन लागेको ‘मदर टंग स्याटर्डे स्कुल’ उद्घाटन कार्यक्रममा कोरियाका लागि नेपाली दूतावासका कार्यबाहक राजदूत रामसिंह थापा वक्ताको रुपमा रहनेछन् । साथै एनआरएनएका केन्द्रिय अध्यक्ष कुमार पन्त, साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलका महाप्रबन्धक अशोककुमार राई पनि वक्ताको रुपमा रहनेछन् ।

स्कुलका लागि कक्षा कोठाको व्यवस्था भने दुर्गा इण्टरप्राइजेजले गर्ने भएको छ । एनआरएनए दक्षिण कोरियाको केन्द्रिय कार्यालय सौलमार्फत सञ्चालन हुने उद्घाटन कार्यक्रममा जुम आइडी ८९९१११९५८२० र पासकोड ९७७९७ मार्फत भर्चुअल रुपमा उपस्थित हुन एनआरएनए कोरियाले आग्रह गरेको छ ।