ओमनमा अवैधानिक भइ बसेका विदेशीलाई घर फर्किन दिइएको अवसरको समयअवधि थपियाे

नेपालीलाई अवसरको उपयोग गर्न दूतावासको आग्रह

ओमनमा अवैधानिक भइ बसेका विदेशीलाई घर फर्किन दिइएको अवसरको समयअवधि थपियाे

मस्कट । ओमनले आफ्नो देशमा अवैधानिक हैसियतमा रहेका विदेशी श्रमिकलाई घर फर्किन दिएको अवसरको समयअवधि बढाएको छ । ओमनको श्रम मन्त्रालयको पछिल्लो निणर्यले घर फर्किन दिइएको अवसरको समय थपेको मस्कटस्थित नेपाली दूतावासले जनाएको छ।

श्रम मन्त्रालयले १० नोभेम्बर २०२० मा यस्तो अवसरकाे घोषणा गरेको थियो । जसअनुसार अवैधानिक भएर काम गरिरहेका विदेशी श्रमिकलाई निःशु्ल्क रुपमा कानूनी प्रक्रिया पूरा गरी घर फर्किन पाउने व्यवस्था गरिएको थियो।पहिलोपटक ३१ डिसेम्बरसम्म यो अवसर दिएको थियो । दोस्रो पटक यो अवधि बढाएर ३१ मार्चसम्म पुर्याइएको थियो ।

तर, विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारीका कारण यो प्रक्रिया कार्यान्वयनमा कठिनाइ भएकोले यो अवधिलाई पुन: बढाएर ३० जुनसम्म कायम गरिएको दूतावासले जनाएको छ ।

यसरी स्वदेश फर्किन चाहाने अवैधानिक श्रमिकले ३० जुनसम्म यहाँको श्रम मन्त्रालयको दर्ता प्रणालीमा सहभागी हुनुपर्नेछ । यो अवसरको सदुपयोग गरेर कतिपय नेपाली स्वदेश फर्किसकेका छन् । यसरी फर्किदा श्रमिकले श्रमसम्बन्धी कुनै पनि किसिमको जरिवाना तिर्नु पर्देन । तर, हवाइ टिकटको व्यवस्था भने आफैले गर्नुपर्दछ।

ओमनमा अवैध रुपमा रहेका नेपालीलाई यो अवसरको उपयोग गर्न दूतावासले आग्रह गरेको छ । यस सम्बन्धमा थप बुझ्नुपरेमा ७१५९२४९० वा ७१५९२५०६ मा सम्पर्क गर्न सकिने दूतावासले जनाएकाे छ।