साउदीमा साइबर कानून उल्लघंन गरे ५ वर्ष जेल, ३० लाख रियाल जरिवाना

साउदीमा साइबर कानून उल्लघंन गरे ५ वर्ष जेल, ३० लाख रियाल जरिवाना

रियाद । वैदेशिक रोजगारीका लागि नेपाली युवाको रोजाइमा पर्ने गन्तव्य मुलुकमध्ये साउदी अरब पनि एक हो । रोजगारीको क्रममा साउदी आइपुगेका कतिपय कामदारलाई यहाँको कानूनबारे स्पष्ट जानकारी नहुँदा समस्यामा पर्ने गरेका छन् ।

सामाजिक सञ्जालको प्रयोगमा ध्यान दिन नसक्दा कतिपय कामदारले साइबर अपराध झेल्न परेको छ । साउदीको साइबर अपराध ऐन २००७ अनुसार साइबर नियम उल्लघंन गरेको खण्डमा ५ वर्ष जेल सजाय वा ३० लाख रियाल जरिवाना तिर्नुपर्ने हुन्छ । अथवा यी दुवै सजाय हुन सक्छ ।

रियादस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै साइवर अपराधबाट बच्न सावधानी अपनाउन आग्रह गरेको छ । आफ्नो मोबाइल फोन, भाइबर, म्यासेन्जर,व्हाट्सएपलगायतका सञ्जालबाट अपरिचित वा अरु व्यक्तिसँग अनावश्यक कुराकानी गर्ने, विभिन्न भिडियो अपलोड गर्ने, पोष्ट शेयर, लाइक,कमेन्ट जस्ता कार्यले साइबर अपराध निम्तिन सक्ने भन्दै त्यसो नर्गन दूतावासले सुझाएको छ।

दूतावसले भनेको छ, ‘साउदीमा अपरिचित पुरुष वा महिलासँग अनावश्यक कुरा नगर्नु । सामाजिक सञ्जालको कुनै पनि माध्यमबाट साउदी कानूनको बर्खिलाप हुने कुराको अपलोड,शेयर, लाइक, कमेन्ट गरेमा ५ वर्षको जेल वा ३० लाख रियाल जरिवाना वा दुवै जरिवाना हुनसक्छ । ’