प्रवासमा पनि खोजिदै प्रतिभा : दोस्रो पुस्तालाई नेपालसँग जोड्न ‘ग्लोबल एनआरएनए सिङगिङ आइडल’

प्रवासमा पनि खोजिदै प्रतिभा : दोस्रो पुस्तालाई नेपालसँग जोड्न ‘ग्लोबल एनआरएनए सिङगिङ आइडल’

दोहा । प्रवासमा पनि नेपाली कला, संस्कृतिको संरक्षण र पहिचान गर्ने उदेश्यका साथ ‘ग्लोबल एनआरएनए सिङगिङ आइडल – २०२१’ को आयोजना गरिने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व क्षेत्रीय युवा विभागले भर्चुअल माध्यमबाट उक्त कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रमका व्यवस्थापक समेत रहेका एनआरएनए मध्यपूर्व क्षेत्रीय समितिका युवा संयोजक राज रेग्मीका अनुसार यस आइडलमा ८३ देशका गैरआवासीय नेपाली सहभागी हुन पाउनेछन् । एनआरएनको दोस्रो पुस्तालाई नेपाली भाषा, संस्कृतिसँग निकट बनाउने उदेश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको उनले बताए। कार्यक्रममा विशुद्ध नेपाली भाषाको प्रयोग हुने संयोजक रेग्मीको भनाइ छ ।

‘विदेशमा लुकेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको हो । हामी जन्मिएको देशप्रति हाम्रो दोस्रो पुस्ता अनविज्ञ जस्तै छ,’ संयोजक रेग्मीले प्रवास खबरसँग भने, ‘ दोस्रो पुस्तालाई नेपालसँग आकर्षित गर्नु नै यो कार्यक्रमको मुख्य उद्देश्य हो ।’  ग्लोबल एनआरएनए सिङगिङ आइडल प्रवासमा लुकेका प्रतिभालाई उजागर गर्ने एकमात्र कार्यक्रम हुने रेग्मीको दावी छ ।

कोभिडका कारण पहिलो वर्ष भर्चुअल माध्यमबाट आयोजना गरिए पनि आगामी वर्षदेखि फाइनल शोहरु स्टेजमै आयोजना गरिने संयोजक रेग्मीले जानकारी दिए । उनले थपे, ‘प्रवासी नेपालीले आफ्नो प्रतिभा यस कार्यक्रममार्फत प्रस्फुटन गर्न पाउनेछन् । प्रक्रिया सरल र सहज हुनेछ । आगामी वर्षमा पनि यसलाई निरन्तरता दिँदै जाने छौँ ।’

यो कार्यक्रममा मुख्य सहयोगीको भूमिका एनआरएनए मध्यपूर्व संयोजक प्रविण गुरुङको रहेको छ । गुरुङले यसअघि कतारमा नेपाल आइडल, भ्वाइस अफ नेपाल, बुगीबुगी जस्ता चर्चित अन्तराष्ट्रिय रियालिटी शोका विभिन्न कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका थिए ।

कार्यक्रमका व्यवस्थापक एनआरएनए मध्यपूर्वका युवा संयोजक राज रेग्मी तथा एनआरएनए मध्यपूर्व संयोजक प्रविण गुरुङ

‘कला, संस्कृतिको संरक्षण गर्न हामीले विशेष भूमिका खेल्नै पर्ने देखिन्छ । दोस्रो पुस्तालाई देशसँग जोड्ने वातावरण बनाउनु हाम्रो दायित्व हो । र, एनआरएनएको मुख्य लक्ष्य पनि यही हो,’ संयोजक गुरुङले प्रवास खबरसँग भने, ‘ यसको सुरुवात अहिले नगरे कहिले गर्ने ? भनेर ‘एनआरएनए ग्लोबल सिङगिङ आइडल’ को आयोजना गरिएको हो ।’ यो कार्यक्रमले प्रवासमा नेपाली कला सँस्कृतिको जगेर्ना गर्न टेवा पुग्ने गुरुङको विश्वास छ । उनले संसारभरका गैरआवासीय नेपालीलाई कार्यक्रममा सहभागी हुन अपिल समेत गरेका छन् ।

कार्यक्रमलाई सफल बनाउन मध्यपूर्व क्षेत्रीय उपसंयोजकद्वय मनोज कुमार श्रेष्ठ (गोर्खाली), राजेन्द्र अर्याल (जोन) र मध्यपूर्व क्षेत्रीय महिला संयोजक सुमित्रादेवी पौडेलको पनि विशेष सहयोग रहनेछ ।

आइडलको यस वर्षको निर्णायक मण्डलमा उदय सोताङ, सुनिता दुलाल, विजय लामा र प्राश्ना शाक्य रहनेछन् । कार्यक्रमको सञ्चालन विवेक खतिवडाले गर्नेछन् ।

कार्यक्रमा विश्वभर रहेका एनआरएनएका ६ वटा क्षेत्रीय समितिबाट सहभागी हुन सक्नेछन् । प्रत्येक समितिबाट १२ जना प्रतियोगीे सहभागी हुन पाउनेछन् । म्यानमारबाट भने एकल राष्ट्र भएकोले ३ जना प्रतियोगी सहभागी हुन पाउनेछन्। जसअनुसार विश्वभरबाट ७५ जना प्रतियोगीको सहभागिता रहनेछ।

प्रतियोगी छनौटका लागि विभिन्न राउण्ड तोकिएको छ । कार्यक्रममा सहभागी हुन थोरैमा २ मिनेको अडिसन भिडियो आफू रहेका सम्बन्धित क्षेत्रीय समितिमा पठाउनुपर्ने छ । क्षेत्रीय समितिले प्राप्त गरेको उक्त भिडियो १० अप्रिलसम्ममा आयोजक समक्ष पुग्नुपर्नेछ । आयोजकले ७५ जनाबाट छनौट गरि ३७ प्रतियोगीलाई मात्रै ओपनिङ राउन्डमा पठाउनेछ।

आयोजकले ओपनिङ राउन्डबाट १३ जना प्रतियोगीलाई छनौट गरि फाइनल राउन्ड पठाउनेछ । यसरी फाइनल राउन्डबाट भने ५ जनाले मात्रै ग्राण्ड फिनालेमा प्रवेश पाउनेछन्।

यस डिजिटल अडिसनका लागि प्रतियोगीले गीत अनुसार पोशाकसहितको भिडियो पठाउनुपर्नेछ । त्यस्तै स्पष्ट नेपाली भाषा उच्चारणसहितको गीत हुनुपर्नेछ । यसका साथै प्रतियोगीले म्यूजिकल ट्र्याकको प्रयोग गर्न पाउने छैनन् । तर, वाद्यवादन भने प्रयोग गर्न पाइनेछ।

यस वर्षका विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै तृतिय स्थान हाँसिल गर्नेले ५० हजार र चौथो स्थान हाँसिल गर्नेले २५ हजार रुपैयाँको पुरस्कार व्यवस्था गरिएको छ। ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीलाई एल्वममा गीत गाउने अवसर पनि दिइने आयोजकले बताएको छ।