ब्राजिलमा सेना, नौसेना र हवाई सेना प्रमुखको एकसाथ राजीनामा

ब्राजिलमा सेना, नौसेना र हवाई सेनाका प्रमुखले एकसाथ राजीनामा दिएका छन् । राष्ट्रपतिले सेनामाथि अनावश्यक दबाव दिने प्रयास गरेको भन्दै विरोध स्वरुप राजीनामा दिइएको रक्षा मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति जइर बोल्सोनारोले राजनीतिक सङ्कट झेलिरहेको अवस्थामा सेनातर्फका तीन ओटा उच्च पदबाट राजीनामा आएको समाचार जनाइएको छ । ब्राजिलमा राष्ट्रपतिसँग मतभेद भएर सेना, नवसेना तथा हवाई सेनाका प्रमुखले एकसाथ राजीनामा दिनु यो दोस्रो घटना हो । सन् १९८५ मा पनि यस्तै घटना घटेको जनाएको छ ।
गत सोमवार मात्रै आफ्ना विदेश तथा रक्षामन्त्री दुवैले राजीनामा दिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्न बोल्सोनारो बाध्य भएका थिए । बोल्सोनारोका समर्थक मानिएका विदेशमन्त्रीले सांसदहरूको आलोचनापछि राजीनामा दिएको भोलिपल्टै सेना, नौसेना र हवाई सेनाका प्रमुखको राजीनामा आएको बताइएको छ ।
सन् २०१९ को जनवरीमा बोल्सोनारोले सत्ता सम्हालेका थिए । कोरोना भाइरस सङ्क्रमणका कारण विश्वमा दोस्रो स्थानमा परेको ब्राजिलमा कोरोनाभाइरस महामारीलाई लिएर राष्ट्रपतिको लोकप्रियता खस्कँदो अवस्थामा रहेको छ ।
ब्राजिलमा कोरोनाभाइरसका कारण अहिलेसम्म तीन लाख १४ हजार जनाको ज्यान गइसकेको छ भने एक करोड २५ लाखमा सङ्क्रमण पुष्टि भएको छ ।
ताजा अपडेट
