मौसम खराबीले सयौँ उडान प्रभावित

मौसम खराबीले सयौँ उडान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण करिब पाँच दिनदेखि हवाई उड्डयन क्षेत्र प्रभावित भएको छ । मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तर्फका अधिकांश उडान प्रभावित भएका छन् । मंगलवार पनि कतिपय गन्तव्यको उडान सञ्चालनमा कठिनाइ भएको विमानस्थलले जनाएको छ ।

प्रतिकुल मौसमका कारण विशेषगरी हेलिकोप्टर कम्पनी बढी प्रभावित भएको छ । तीन दिनका लागि बुकिङ भएका विभिन्न कम्पनीका दैनिक ७० जना यात्रु उडाउने उडान तालिका रहे पनि चार दिनसम्म उडान हुन सकेको छैन । यो अवधिमा करीब ४० उडान रद्द भए । यस्तै, १२ भन्दा बढी उद्धार उडान रद्द भएको वायुसेवा सञ्चालक सङ्घ नेपालले जनाएको छ । गोसाइँकुण्डको मात्रै ४० उडान रद्द भएको छ । सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले प्रतिकूल मौसमका कारण हवाई क्षेत्रको उडान प्रभावित भएको र सबैभन्दा बढी असर हेलिकोप्टर कम्पनीमा परेको बताए ।

काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा शुक्रबारदेखि अचानक देखिएको तुवाँलो र बढेको वायु प्रदूषणले देशभरको जनजीवन प्रभावित भएको छ । वायु प्रदूषणले मानवस्वास्थ्यमा पनि असर गर्ने विज्ञहरुले बताएका छन् ।

हेलिकोप्टरका ११ कम्पनी रहे पनि १० कम्पनीबाट ३६ हेलिकोप्टरले सेवा दिँदै आएका छन् । भिजिबिलिटी नहुँदा हेलिकोप्टरमात्र हैन जहाजको उडान पनि प्रभावित भएको छ । प्रवक्ता शर्माका अनुसार हवाईजहाजतर्फ पनि चार दिनसम्म अधिकांश उडान रद्द भए । सोमबारसम्मको तथ्याङ्कमा ट्रङक रुटमा बुद्ध एयरको ६५, यती एयरलाइन्सको ४५, श्री एयरलाइन्सको २२, सौर्य एयरलाइन्सको १४ र अन्य एयरलाइन्सको आठ उडान रद्द भएका छन् ।

यस्तै, स्टल रुटमा करीब ४० उडान रद्द भएको सङ्घका प्रवक्ता शर्माले जानकारी दिए । अन्तरराष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ नियमित उडानमा ४०० उडान हुने गरेका छन् । हवाईजहाजतर्फ नौ कम्पनीका ५० जहाज छन् ।

पछिल्लो चार दिनमा आन्तरिकतर्फ सयौँ उडान रद्द भएका छन् । प्रतिकूल मौसमकैबीच विमानस्थलले आन्तरिक र अन्तरराष्ट्रियतर्फ यान्त्रिक पद्धति (आइएफआर) उडान सञ्चालन गरिरहेको छ । अन्तरराष्ट्रिय उडानतर्फ पनि केही उडान प्रभावित भएका छन् ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।

अहिले नेपालको आकाशमा बाक्लो तुवाँलो लागेको छ । विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले केही दिनदेखि वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै नेपाल तथा भारतका विभिन्न स्थानमा लागेको डढेलोको धुवाँले मौसम बिग्रिएको जानकारी दिए । मौसमविद् मञ्जु बासीले डढेलोका कारण वायुमण्डलमा असर परेको र बाक्लो तुवाँलो लागेको बताए ।

हाल काठमाडौँ उपत्यका पूरै तुवाँलोले ढाकेको र भिजिबिलिटी कम रहेको उनले जानकारी दिए । वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले यस्तो अवस्थामा सावधानी अपनाउन आग्रह गरेको छ ।