स्वास्थ्य मापदण्ड अपनाउन बेलायती प्रधानमन्त्री जोन्सनको आग्रह

स्वास्थ्य मापदण्ड अपनाउन बेलायती  प्रधानमन्त्री जोन्सनको आग्रह

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सर्वसाधारण नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेका छन् । बेलायतमा बाहिर हिँडडूलसँगै पुनः खेलकूद शुरु भएका छन् । उनले यस अवस्थामा कोरोना संक्रमण बढ्दै गएकोले यी कार्यहरु नगर्न आग्रह गरेका हुन् ।

बेलायतमा छ जनासम्म मानिस बाहिर जम्मा भएर हिँडडूल गर्न, घर तथा सार्वजनिक पार्कमा सानो संख्याका मानिस जम्मा हुन र सानातिना खेलकुद गर्न दिने विषयमा छलफल भइरहेकोले तत्काल बाहिरी हिँडडूल र खेलकुद शुरु नगर्न भनिएको हो ।

प्रधानमन्त्री जोन्सनले अहिले पनि देशमा महामारीको अप्ठेरो अवस्था छ भन्ने कुरा सबै नागरिकले मनन गर्नुपर्ने बेला रहेको बताए । बेलायतमा जनवरी पहिलो हप्ताबाट कडाइगरिएकोमा सोमबारदेखि केही खुकुलो गराइएको छ । यससँगै यहाँका नागरिकले सबै खुला भएको महसुस गरेर हिँड्न र काम गर्न नहुने उनले बताएका छन् ।

८ मार्चदेखि विद्यालयहरु खुला गरिएको छ भने सोमबारदेखि लकडाउनमा केही खुकुलो पारिएको छ । उनले यसअघि बेलायतमा घरमै बसौँ भन्ने नारा अघि सारिएकोमा अब भने आफ्नो समुदायमा बसौँ धेरै टाढा हिँडडूल नगरौँ भन्ने नारा अघि सारिएको बताए ।

बेलायतमा सोमबारदेखि गरिएको व्यवस्थामा नागरिक घरबाट बाहिर निस्कन पाउने छन् । तर ठूलो संख्यामा जम्मा हुन र धेरै टाढाको यात्रा गर्न भने पाउने छैनन् । बेलायतमा अहिले पनि कोरोनाको नयाँ प्रजातिको भाइरसको प्रकोप देखिएको छ । यहाँ दैनिक संक्रमित हुने र मृत्यु हुनेको संख्यामा कमि आएको छैन ।