जापानमा नेपाली भाषामै कोभिड –१९ बारे जानकारी लिन सकिने

जापानमा नेपाली भाषामै कोभिड –१९ बारे जानकारी लिन सकिने

टोकियो । जापान सरकारले कोभिड –१९ बारे विभिन्न भाषामा जानकारी लिन सक्ने व्यवस्था गरेको छ । जापानको स्वास्थ्य मन्त्रालयले जापान बस्दै आएका विदेशीलाई मध्यनजर गर्दै आफ्नो वेबसाइट मार्फत १२ ओटा भाषामा अनुवाद गरिएको फारम र जानकारी सार्वजनिक गरेको हो ।

यो व्यवस्थाले जापानी भाषामा दखल नभएका विदेशीलाई फारम र जानकारी पत्रमा भएको कुरा बुझ्न सहयोग गर्ने मन्त्रालयले जनाएको छ । उक्त जानकारी पत्रमा खोप कसले लगाउन सक्छन् ? खोपको सम्भावित असर केके हुन् ? खोप कसरी लगाउन सकिन्छ ? लगायतका जानकारीहरु समेटिएको छ । यसैगरी खोप लगाउनु अघि याद गर्नु पर्ने जानकारीहरु खोप फारममा समावेस गरिएको छ ।

मन्त्रालयले अंग्रेजी, अरबी, फ्रान्सेली, इन्डोनेशियाली, कोरियाली, बर्मिज, नेपाली, पोर्चुगाली, रुसी, स्पेनी, तागालोग र थाई भाषामा अनुवादित जानकारी पत्र र फारम सार्वजनिक गरेको छ ।

विभिन्न भाषामा अनुवादित यी सामाग्रीहरु दर्ता आवासमा पठाइनेछ । खोप लगाउने पालो आएपछि अनलाइन वा फोन मार्फत नगरपालिकाले तोकेको क्लिनिक अथवा खोप स्थलमा आफ्नो नाम दर्ता गर्नुपर्ने हुन्छ।

खोपका लागि दिइएको आवेदनमा आवेदकले आफ्नो मेडिकल इतिहास र स्वास्थ्य अवस्थाको जानकारी सहित पेश गर्नुपर्ने हुन्छ । जापानी भाषा नबुझ्नेमा आफ्नो भाषामा अनुवादित भाषाको फारम हेर्दै सोही अनुरुप जापानी भाषाको फारम भरी खोप स्थलमा पठाउनुपर्ने हुन्छ ।

फारम चेकजाँच गर्ने डाक्टर तथा नर्सले अन्य भाषा नबुझ्ने भएकोले जापानी भाषामा नै फारम भर्नुपर्ने मन्त्रालयले जनाएको छ । खोप लगाउनका लागि विदेशी नागरिकले पनि जापानी नागरिक सरहकै सर्तहरु पूरा गर्नुपर्नेछ ।

साथैे खेमर, मंगोलियाली, भियतनाम र चिनियाँ भाषामा पनि फारम र जानकारी अनुवाद भइरहेको मन्त्रालयले जनाएको छ ।