चीनबाट काठमाडौं आइपुग्यो आठ लाख डोज कोभिड खोप

चीनबाट काठमाडौं आइपुग्यो आठ लाख डोज कोभिड खोप

काठमाडौं । चीनको बेइजिङबाट आठ लाख डोज कोरोना खोप काठमाडौं आइपुगेको छ । खोप लिएर नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज सोमबार बिहान काठमाडौं आइपुगेको हो ।

त्रिभुवन विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई चिनियाँ राजदूत होउ यान्छीले उक्त खोप हस्तान्तरण गरेकी छिन् ।
चीन सरकारले कोरोनाविरुद्ध ‘भेरासेल’ खोप नेपाललाई अनुदान दिएको हो । सिनोभ्याक बायोटेक कम्पनीले उत्पादन गरेको खोप २ देखि ८ डिग्री सेल्सियसम्म भण्डारण गर्न सकिने विज्ञले बताएका छन्। यो खोप दुई मात्रा लगाउनु पर्छ ।

विभिन्न परीक्षणले चिनियाँ खोप ‘भेरासेल’ भारतबाट ल्याइएको कोभिसिल्डभन्दा बढी प्रभावकारी देखाएको विज्ञको दाबी छ । तर भेरासेल कोभिसिल्डभन्दा महँगो छ । यसअघि भारतले पनि नेपाललाई १० लाख डोज कोभिडसिल्ड खोप दिएको थियो ।

जुन खोप बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेका कम्पनीले संयुक्त रूपमा विकास गरेका हुन् भने भारतस्थित सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको छ ।